
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै दबाबमै रहेको र दबाबबाट मुक्त हुन नसकेको दाबी गरेका छन् ।
मंंगलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधान बारे उनले छलफल गरेका छन् । छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताएका हुन् । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनको भनाइ छ ।

‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ,’ उनले भने, ‘गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौँ इण्डिकेटरहरु सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन । त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निस्कर्षमा पुग्नुपर्ने आवश्यकता छ । धेरै चिन्तित हुनुपर्ने छैन भन्नेपनि छ अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौँ भन्ने छ । सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ ।’
प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जा सम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भएपनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताए । उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताए ।