५ मंसिर २०८०, मंगलवार

ठमाडौँ । सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो । जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०/५० करोड रुपैयाँ पठाइएको छ । बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ ।

अर्थतन्त्रका सूचक सकारात्मक रहेको अर्थमन्त्रीको दाबी

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् । सोमबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको समेत दाबी गरे । विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने उनको भनाई छ । अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने अपेक्षा समेत अर्थमन्त्रीको रहेको छ ।

ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार आगामी मंसिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन प्रकारमा कुल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने लागेको हो । बैंकले जारी गरेको सूचनाअनुसार कुल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गरिनेछ भने बाँकी २० अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिनेछ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्टाइएको छ भने ९१ दिनेका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिनेका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ ।

शेयर बजार १ अङ्कले बढ्यो

११ दिनपछि खुलेको शेयर बजार सोमवार एक अङ्कले बढेको छ । तिहार र अन्य बिदाका कारण गएको कात्तिक २३ गतेपछि सोमबार खुलेको शेयर बजार परिसूचक नेप्से एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको हो । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्यबाहेक सबै समूहको शेयर बढेको छ । बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सोमबार ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

पाकिस्तानकालागि वैदेशिक ऋणको आवश्यकता घटाइयो

पाकिस्तानको वैदेशिक ऋणको आवश्यकतालाई ३ दशमलव ४ अर्ब अमेरिकी डलरले घटाएर २५ अर्ब अमेरिकी डलर कायम गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चालू आर्थिक वर्षका लागि पाकिस्तानको ऋणको आवश्यकतालाई घटाएको हो । पाकिस्तानको अर्थ मन्त्रालय स्रोतका अनुसार आईएमएफले यस आर्थिक वर्षका लागि पाकिस्तानको मुद्रास्फीति प्रक्षेपण पनि २५ दशमलव ९ प्रतिशतबाट घटाएर २२ दशमलव ८ प्रतिशतमा झारेको हो । आईएमएफले चालू खाता घाटा सीएडी, आयात, आर्थिक वृद्धि, मुद्रास्फीति र कूल वित्तपोषण आवश्यकताहरूको लागि वित्त मन्त्रालयको अनुमानलाई अस्वीकार गरेको छ ।

LIVE TV