४ मंसिर २०८०, सोमबार

काठमाडाैँ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द गरिएको बताएका छन् । सोमवार उनले टिकटक प्रतिबन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतो रहेको भन्दै सरकारको उक्त निर्णयलाई सर्वोच्च अदालतले खुलाउनुपर्ने बताएका छन् ।

सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरुको तुलना गर्दा सबै राजनीतिक दलहरु यसमा सहमत भएको बुझ्न सकिने अर्यालले स्पष्ट पारे । टिकटक प्रतिबन्ध फिर्ता नहुनु र अदालतले आधारमा फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा टिकटक प्रतिबन्ध लगाएको बुझ्न सकिने उनको भनाइ थियो ।

अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने बताए । उनले सरकारले आम जनताले आफूलाई अभिव्यक्त गर्ने माध्यम खोसेको बताए ।

‘टिकटक बन्द गर्नुमा सरकारभन्दा राजनीतिक दलहरुको पनि मिलेमतो भएको जस्तो लाग्छ । जसरी भित्र, बाहिरका कुरा आएका छन् । टिकटकको प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतोमा नै भएको हो,’ उनले भने, ‘यदि यो फिर्ता भएन भने, अदालतले आधारमा बसेर निर्णय गर्ने हो भने यो हाम्रो संविधानले मानेको अन्तर्राष्ट्रिय सन्धीहरु र हाम्रो जुन प्रणाली छ, त्यसको कुरामा हेर्ने हो भने यो टिकटकको प्रतिवन्ध मनासिव छँदै छैन । संशय त हो नै यो बन्देजमुखी कदम हो । यसबाट हाम्रो असाध्यै लोकतन्त्र बढो उत्साहीत भएर दुई वटा संविधान सभाको त चुनाव भयो । त्यसरी संविधान बनाएर ल्याएको र संसद भएको देश यसले विश्वमा के सन्देश जान्छ ? यो अझ गम्भीर लागेको छ ।’

उनले टिकटक प्रतिबन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्ने बताएका छन् ।

LIVE TV