
- सुजन चालिसे
काठमाडौँ । नागरिकको सुरक्षार्थ खटिने प्रहरीमाथि नागरिक तहबाटै असुरक्षा बढ्न थालेको छ । शुक्रबार राति शंखरापुर नगरपालिकाको लप्सीफेदीमा स्थानीयले प्रहरीमाथि नै आक्रमण गरे । कुनै समय प्रहरीको उपस्थिति नै शान्ति सुरक्षा कायम गर्नका लागि पर्याप्त हुने गर्दथ्यो । तर कहिले प्रहरीको व्यवहार त कहिले सर्वसाधारणकै अराजकताका कारण यस्ता घटना हुने गरेका छन् । यसले एकअर्काको सुरक्षा सारथि बन्नुपर्ने सर्वसाधारण र प्रहरीका बिच नै असुरक्षित माहोल सिर्जना भएको छ ।
काठमाडौँको शंखरापुर नगरपालिकाको लप्सिफेदीमा खटिएका सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरे । लप्सिफेदीमा नेपाल विद्युत प्राधिकरणको सबस्टेसन निर्माणमा पहिलेदेखि नै हुँदै आएको अवरोधलाई मध्यनजर गर्दै काठमाडौँ जिल्ला सुरक्षा समितिले प्रहरी पोष्ट राख्ने निर्णय गरेको थियो । सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल प्रहरी पोष्ट राख्नका लागि लप्सिफेदी पुगेका प्रहरी टोलीमाथि स्थानीयवासीले ढुंगामुढासहित शुक्रबार राति आक्रमण गरेका थिए । आक्रमणमा परेर नेपाल प्रहरीका डिएसपी देवराज राईसहित ३ सुरक्षाकर्मी घाइते भएका थिए । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण र मुआब्जा तथा क्षतिपूर्ति वितरण सम्पन्न भइसके पनि विभिन्न वाहानामा स्थानीयले अवरोध गर्दै आएका छन् । सामान्य अवरोधमात्र होइन, प्रहरीसँग मुठभेडमै उत्रिनसमेत स्थानीय तत्पर देखिए । अग्रपंक्तिमा खट्ने प्रहरीविरुद्ध आक्रमण गरेर नागरिकले सरकारसँगको असन्तुष्टी प्रस्तुत गरेको प्रहरीको बुझाई छ ।
पछिल्लो समय स्थानीयबाटै प्रहरीमाथि आक्रमण बढ्दै गएको छ । गत भदौमा २ जना प्रहरीमाथि आक्रमण गरेर स्थानीयले प्रहरीकै हतियार लुटपाट गरे । सुनसरीको यो घटनामा २ जना प्रहरी घाइतेनै भएका थिए । गत असोजमै बाँकेको नेपालगञ्जमा प्रहरीले जारी गरेको निषेधाज्ञाको अवज्ञा गरी स्थानीय झडपमै उत्रिँदा ३ जना सुरक्षाकर्मी घाइते भए । गत कार्तिकमा गुल्मीमा स्थानीयको आक्रमणमा परेर २ जना प्रहरी घाइते भए । घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यी लगायत सर्वसाधारणबाट प्रहरीमाथि भएको आक्रमणको लामै फेहरिस्त छ । राजनीतिक संरक्षण हुन्छ भन्ने विश्वासका साथ सर्वसाधारण जनताले सुरक्षा निकायमाथि नै अटेरी गर्ने गरेको पुर्व डिआईजी केशव अधिकारी बताउँछन् ।
कुनै समय थियो, प्रहरीको उपस्थिति नै सर्वसाधारणको सचेतना र सुरक्षाका लागि पर्याप्त हुन्थ्यो । तर पछिल्लो समय प्रहरीमाथि नै विश्वासका कयौँ प्रश्नहरु खडा हुने गरेका छन् । कतिपय सवालमा प्रहरीका व्यवहार र कार्यशैली नै खराब भएका उदाहरण पनि छन् । तर प्रहरीमाथि नै जाइलाग्ने सर्वसाधारणको प्रवृत्तिले झन् अराजकता बढाउने निश्चित छ । यसले शान्ति सुरक्षा खलबल्याउन चाहने पक्षका लागि अझ बल पुग्छ । सर्वसाधारणको यस्तो प्रवृत्तिलाई समयमै निश्तेज पार्नु जरुरी छ ।