
- एलिसा अर्याल
काठमाडौँ । करिब दश वर्ष पहिलेसम्म तराई मधेशको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सा र भारतको दरभंगा, मधुबनी, सीतामढी लगायत मिथिलाञ्चलमा मात्र सीमित छठ पर्व त्यस यता भने नेपालभर नै छाउँदै आएको छ । यो पर्व अहिले राष्ट्रिय रुपमै सर्वस्वीकार्य बनेको छ । काठमाडौं लगाएतका पहाडी जिल्लाहरुमा देखिएको छठको रौनकताले पनि यसलाई प्रमाणित गर्छ ।
काठमाडौं यतिबेला छठको रौनकमा रमेको छ । राष्ट्रपति रामचन्द्र पौडेल समेत काठमाडौंको छठमा रमेका छन् । पछिल्ला दश वर्ष यता छठ पर्वमा देशनै रमेका दृश्यहरु बढ्दै गएका छन् । मधेस क्षेत्रमा सीमित चाड छठ रोजगारी र बसोबासको गतिविधि बढेसँगै देशभर फैलिँदै गयो र अहिले नेपालका अधिकांश जिल्लामा छठको रौनक छ ।
विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ पछि काठमाडौँ लगायत पहाडमा पनि मनाउन थालिएको हो । २०४६ सालदेखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको छ । २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै बागमती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । २०७२ सालको भूकम्पयता भने रानीपोखरीमा छठ पर्व मनाइदैन् । खास गरी पहाडी समुदायले यस पर्वलाई अपनत्व ग्रहण गरेसँगै छठ पर्व तराईको समथल फाँटदेखि हिमालको फेदसम्म पुगेको हो ।
छठमा सूर्यको पूजा गरिने भएकाले पनि हिन्दुर्धमावलम्वीहरूले आत्मियता महशुस गर्ने गरेका छन् । जीवन, जगत, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेको सूर्यको आराधना गर्नुमा आपसी, सद्भाव, एकता र सहिष्णुताको सन्देश पनि हो ।
छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।