
काठमाडौँ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गर्नुभन्दा चार वर्षअघि नै डा. बाबुराम भट्टराईले संयुक्त जनमोर्चाको नेतृत्व सम्हाल्दै संसदीय राजनीतिमा प्रवेश गरेका थिए । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आइसकेपछि अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसमेत हुने अवसर पाए । माओवादीभित्रका विद्वान् भनेर चिनिएका भट्टराईले माओवादी त्यागेकै ८ वर्ष बढी भयो । माक्र्सवादी विचारबाटै अलग भएका भट्टराई घुमीफिरि माओवादीकै नजिक आइपुगेका छन् ।
डा. बाबुराम भट्टराई एउटा यस्तो पात्र हुन्, जो माओवादीभित्र विद्वान डाक्टरका रुपमा परिचित थिए । उनी २०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाबाट निर्वाचित भएर संसदभित्र प्रवेश गरेका थिए । संसदीय राजनीतिमा प्रवेश गरेर पनि उनी तत्कालिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी) बाट १० वर्ष सशस्त्र संघर्षमा होमिए । दश वर्षे सशस्त्र संघर्षका क्रममा पनि भट्टराई माओवादीको सत्ता प्रमुख थिए । भट्टराईकै कारण तत्कालिन माओवादी युद्धका क्रममा दुई लाइन संघर्ष चर्किरहन्थ्यो । जतिबेला मोहन वैद्यले भट्टराईलाई दक्षिण पन्थी लाइनको आरोप लगाइरहन्थे ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि माओवादीले सबैभन्दा ठूलो पार्टीको हैसियतमा सरकारको नेतृत्व गर्दा प्रचण्ड प्रधानमन्त्री थिए भने भट्टराईलाई अर्थमन्त्री बनाइयो । राज्यमा सबैभन्दा बढी कर संकलन गर्न सक्षम रहेका भट्टराई सफल अर्थमन्त्रीका रुपमा दरिए । २०७२ सालको महाभूकम्पपछि अघि नै भट्टराईले आफ्नो राजनीतिमा भूकम्प ल्याउन शुरु गरेका थिए । मुलुकमा वैकल्पिक शक्तिको अवधारणा अघि सारेका उनी संविधान जारी भए लगत्तै २०७२ असोज ९ गते माओवादी पार्टी नै परित्याग गरेका थिए ।
माओवादी परित्यागको घोषणा गर्दा माक्र्सवादी विचारधाराबाटै अलग भएको बताएका भट्टराईको राजनीतिक उतारचढाव विचित्र ढंगले अघि बढ्यो । वैकल्पिक शक्ति भन्दा नयाँ शक्ति घोषणा गरेका भट्टराईसँग बौद्धिक जमातदेखि सेलिब्रिटी नायक नायिकाहरुसमेत पछि लागे । तर उनको राजनीति भने एउटै लयमा अघि बढ्न सकेन ।
२०४८ देखि २०७८ सम्म कस्तो थियो भट्टराईको राजनीतिक उचार चढाव ?
– २०४८ सालमा एकता केन्द्रको महासचिव
– २०५१ सालमा निर्मल लामा समूहबाट अलग
– २०४८ सालमा संयुक्त जनमोर्चाको नेतृत्व गर्दै संसद प्रवेश
– २०५२ सालमा जनमोर्चाको तर्फबाट सरकारलाई ४० बुँदे ज्ञापनपत्र पेश
– २०५५ युद्ध शुरु भइसकेपछि प्रचण्डसँग अन्र्तसंघर्ष
– २०५८ मा संयुक्त क्रान्तिकारी जनपरिषद् प्रमुख
– २०६३ असार २ गते प्रचण्डसँगै बालुवाटारमा सार्वजनिक
– २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थमन्त्री
– २०६८ सालमा प्रधानमन्त्री
– २०७० मा नयाँ वैकल्पिक शक्ति अभियान
– २०७२ असोज ९ गते माओवादी परित्याग
– २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टीको घोषणा
– २०७८ चैत २८ गते संघीय समाजवादी फोरमसँग एकता
– २०७९ नेपाल समाजवादी पार्टी गठन
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि प्रधानमन्त्रीसमेत भइसकेका भट्टराईले स्थापना गर्न खोजेको बैकल्पिक शक्तिलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा विलिन गराए । भट्टराई राजनीतिक एकपछि अर्को गरी कमजोर बन्दै गयो । अन्ततः यादवसँग पनि उनी लामो समय टिक्न सकेनन् । अन्ततः नेपाल समाजवादी पार्टी बनाएर यादवबाट अलग भए । जतिबेला उनको राजनीतिक शक्ति क्षीण भइसकेको थियो । त्यसैले माक्र्सवादी विचार नै त्यागेको भट्टराईले लामो समय प्रचण्डलाई धारे हात लगाउँदै आए । तर २०७९ सालको निर्वाचनमा भने प्रचण्डसँगै एकता गर्ने अभिष्टका साथ माओवादीकै चुनावचिन्ह सापटी मागे । आफ्नो निर्वाचन क्षेत्र प्रचण्डका लागि खाली गरिदिए । त्यही सौदाबाजीमा छोरी मानुषीलाई माओवादी चिन्हबाट उम्मेदवार बनाए । तर मानुषीले लज्जास्पद हार ब्यहोरिन् । पछिल्लो समय चार दलीय समाजवादी मोर्चामा समेत भट्टराई अटाउन सकेनन् । जसले गर्दा माओवादीसँगको एकतालाई पन्छाउँदै आएका थिए ।
तर कहीँकतैबाट पनि उँभो लाग्न नसकेपछि अन्ततः भट्टराई प्रचण्डसँग एकताका लागि हात पसारिरहेका छन् । आफनो पार्टीको तर्फबाट गंगानारायण श्रेष्ठलाई माओवादीसँग एकताका लागि वार्ता समिति संयोजक बनाए । दुवै पार्टीको वार्ता समितिको आइतबार बसेको वैठकले पार्टी एकता संयोजन समिति गठन गरी पार्टी एकता गर्ने निर्णयमा पुगेको छ । यो निर्णयसँगै भट्टराई अब छिट्टै प्रचण्डसँगको पार्टीमा देखिने निश्चित छ ।