३ मंसिर २०८०, आईतवार

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले राज्य व्यवस्था नै उल्टाउने उद्घोषका साथ मंसिर ७ गते काठमाडौंमा भीषण प्रदर्शनको तयारी गरेकै दिन एमालेको युवा संगठनले पनि सोही दिन प्रदर्शन गर्दैछ । युवासंघले गर्न लागेको प्रदर्शनमा एमालेले सबै शक्ति केन्द्रित गर्ने तयारी गरेको छ । प्रसाईँ र एमालेको एकै दिन गर्न लागेको शक्ति प्रदर्शनले मुलुकलाई मुठभेडतर्फ लैजाने आशंका पनि उत्तिकै छ ।

व्यवसायी दुर्गा प्रसाईँले बैंक तथा वित्तीय संस्थाहरुबाट अर्बौं रुपैयाँ ऋण लिएर तिनै वित्तीय संस्थाविरुद्ध जेहाद छेडिरहेका छन् । विभिन्न समुदायका व्यवसायीका विरुद्ध खरो उत्रिएका प्रसाईँले वित्तीय संस्थालाई ठीक पार्न भन्दै कालोमोसो दस्ता नै तयार पारे । आफूखुशी केही व्यवसायीहरुलाई कालोसूचीमा राखेर नाम सार्वजनिक गर्दै गर्दा प्रसाईँलाई नै एउटा समूहले कालोमोसो दलेको थियो । प्रसाईँ आफैले कालोमोसो भेटेपछि भने एमालेविरुद्ध विष बमन गरिरहेका छन् । कुनै बेला एमालेको निकै भजन गाउने प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबा भन्दै प्रशंशा र भक्तिगान गाउँथे । ओलीकै कृपाले उनी एमाले केन्द्रीय सदस्य भए । गएको आम निर्वाचनमा एमालेबाट टिकट नपाएपछि रुष्ट भएका प्रसाईँले पूर्व राजा ज्ञानेन्द्रलाई साक्षी राखेर राजतन्त्रको पक्षमा अभियानको थालनी गरेका थिए ।

राजनीतिक दलका नेताहरुको फेरो समतेर ब्यवसायिक लाभ लिने प्रयास असफल भएपछि वर्तमान राज्य ब्यवस्थाविरुद्ध उत्रिएका प्रसाईँले पहिलो पटक मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । प्रसाईँले देशैभरीबाट आफ्ना समर्थकहरुलाई काठमाडौं उतारेर शक्ति प्रदर्शन गर्न लागेपछि सोही दिन एमाले युवा संघले काठमाडौंमा नै वृहत्त प्रदर्शनको घोषणा गर्यो । प्रसाईँसँगको ब्यक्तिगत इगोकै कारण काउन्टर दिन भन्दै युवासंघले आयोजना गर्न लागेको प्रदर्शन भ्रष्टाचार, महंगी, अनियमिता तथा राज्यको अराजकताविरुद्ध भएको बताएको छ । सोही प्रदर्शनको तयारीका लागि एमालेले शनिवार जनसंगठन समन्वय संयन्त्रको बैठक बसालेर ओलीले युवा कार्यकर्तालार्य प्रशिक्षित गरेका छन् ।

ब्यवसायी प्रसाईँसँगको ब्यक्तिगत टकरावकाबीच युवा संघले गर्न लागेको प्रदर्शनको स्वामित्व एमालेले नै लिँदै सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने ओलीले अगुवा कार्यकर्तालाई निर्देशन दिएका छन् । संयन्त्रको बैठकमा ओलीसँगै सहभागी भएका महासचिव शंकर पोखरेलले सरकारको अराजकताकाविरुद्ध भिषण संघर्ष चर्काउने बताएका छन् ।

युवा संघले गर्न लागेको प्रदर्शनमा एमालेले देशैभरको शक्ति परिचालन गर्न गर्ने भएपछि व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनलाई भने ओझेलमा पार्ने निश्चित छ । वृहत्त नागरिक मुक्ति आन्दोलन भन्दै प्रसाईँले पनि देशैभरबाट आफ्ना समर्थकहरुलाई मंसिर ७ गते नै काठमाडौंमा ओराल्दै छन् । सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दलको प्रदर्शन र व्यवस्था विरुद्ध प्रसाईँको प्रदर्शन कतै मुठभेडकै अवस्थामा पुग्ने त होइन भन्ने त्रासदी उब्जाएको छ ।

LIVE TV