
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो पटक गत वर्ष मंसिर ४ को आम निर्वाचनमा भाग लिएको थियो । निर्वाचन हुनुभन्दा ६ महिनाअघि मात्रै स्थापना भएको यो पार्टी प्रत्यक्ष र समानुपातिकतर्फ गरी २० सिट जित्यो । उपनिर्वाचनमा राष्ट्रपतिले जितेको सिट समेत रास्वपा जित्यो । निर्वाचनको एक वर्ष पुग्दै गर्दा रास्वपा उम्मेवारहरुले मतदाताको घरदैलो अभियान थालेका छन् ।

गत वर्ष मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट जित्यो भने समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गर्यो । आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो । राजनीतिक दलहरुप्रति रुष्ट बनेका युवा शक्तिलाई हात लिँदै गठन भएको यो दलले निर्वाचनमा अप्रत्याशित उभार ल्याइदियो । ठूलो राजनीतिक दलहरुबीचको गठबन्धनलाई समेत चुनौति दिएको रास्वपाका सभापति लामिछाने नागरिकता काण्डमा मुछिए ।
नागरिकता त्यागेर अमेरिका गएका कारण नै सर्वोच्च अदालतले गैर नागरिक ठहर गरेपनि चितवनबाट निर्वाचित भएका लामिछानेको सांसद पद नै खारेज भएको थियो । लामिछानेको निर्वाचन क्षेत्रसहित राष्ट्रपति र उपराष्ट्रपतिको रिक्त स्थानमा भएको उपनिर्वाचनमा रास्वपाको उभार झनै बढेर गयो । परिणाम स्वरुप लामछाने फेरि पनि भारी मतले निर्वाचित भए भने कांग्रेसले जितेको क्षेत्रमा समेत जित हात पा¥यो । ठूला राजनीतिक दलहरुलाई समेत माथ गर्ने गरी खडा भएको यो पार्टीको वैचारिक धार भने अझैसम्म पनि प्रष्ट भइसकेको छैन । जनतासँग सुझाव लिएर पार्टीको राजनीतिक धार बनाउने बताएको रास्वपाले आम निर्वाचनको एक वर्षमा उम्मेदवारहरुलाई शनिवारदेखि मतदाताको घर आँगनमा पठाएको छ । मंसिर ४ गतेसम्म तीन दिन घरदैलो अभियान सञ्चालन गरी रास्वपाले मतदाताहरुबाट लिखित सुझाव लिने जनाएको छ ।
मतदाताबाट के सुझाव चाहेको छ रास्वपाले ?
१) तपाईंको विचारमा हाम्रा कमी-कमजोरी र गल्तीहरू के के हुन् ? कृपया स्पष्ट खुलाइदिनुहोस् ।
२) हाम्रो लागि तपाईंका सुझाव के–के हुन् ? कृपया बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
३) आफ्नो क्षेत्रमा तपाईंले देख्नुभएका तीन मुख्य समस्या प्राथमिकताका आधारमा उल्लेख गर्नुहोस् ।
रास्वपाले सोंचेजस्तो आम मतदाताले लिखित रुपमा सुझाव नदिए पनि प्रतिनिधिमुलक सुझाव पक्कै पनि पाउला । तीन प्रश्न मध्ये आफ्नो निर्वाचन क्षेत्रको समस्याका बारेमा पनि सुझावहरु पक्कै पनि आउने छ । पार्टीको सबल वा दुर्बल पक्षसँगै सुझाव सङ्कलन गर्ने यो अभियानले आफ्ना नेता कार्यकर्ताहरु जनताका बीचमा पुग्ने बाहना पनि जुराएको छ ।
राजनीतिक परिवर्तनका बाहक शक्ति भन्ने पुराना राजनीतिक दलहरुले अहिले पनि कुर्लिरहेका छन् । उनीहरु जस्तै रास्वपाले पनि हामी नयाँ हौं भनेर मात्रै पनि जनताले पत्याउने अवस्था भने छैन ।