
- सुजन चालिसे
काठमाडौँ । विश्वका २ ठुला शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबिच भेटवार्तालाई विश्वसमुदायले महत्वका साथ हेरेको छ । पछिल्ला दुई वर्ष यता विभिन्न मुलुकबीचको द्वन्द्वले उग्ररुप लिइरहेका बेला विश्व शक्ति राष्ट्रका प्रमुखहरुबीच भएको भेटले विश्वशान्ति कायमकालागि भूमिका खेल्ने अपेक्षा पनि छ । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कुन–कुन विषय छलफल भयो ? अनि उनीहरुबीचको छलफल र समक्षदारीले विश्वसमुदायमा कस्तो प्रभाव छोड्ला त ?
बुधवार राति अमेरिकाको क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडने र चिनियाँ राष्ट्रपति सि जिनपिङबिच भेटवार्ता भयो । विश्वका २ शक्ति राष्ट्र प्रमुख बिचमा सम्बन्ध चिसिँदै गएका बेला भएको यस भेटलाई विश्वसमुदायले चासो र अर्थपुर्ण ढंगबाट हेरेको छ । एकवर्षअघि इन्डोनेसियाको बालीमा भेटवार्ता भए यता २ नेताबिच भेटवार्ता हुन सकेको थिएन । २०२३ को फेबु्रअरीमा अमेरिकाले चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसालेपछि अमेरिकासँग चीन बिच्किएको थियो । त्यसयता अमेरिका र चीनबिच सैन्य सम्पर्क टुटेको थियो ।
हाल क्यालिफोर्नियामा जारी एसिया–प्यासिफिक इकोनोमिक को–अपरेशन(एपेक) समिटको दौरानमा साइडलाइनमा यो भेट भएको बताइएको छ । तर वास्तविकतामा यो एपेक समिटभन्दा बेग्लै भेटवार्ता रहेको चिनको दावी छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीका अनुसार अमेरिकी राष्ट्रपतिको आह्वानमा चिनियाँ राष्ट्रपति सि १४ देखि १७ नोभेम्बरमा अमेरिकामा रहने बताइएको छ । मन्त्रालयले एपेक सम्मेलन र यो वार्तालाई छुट्टाछुट्टै सम्मेलन बताएको छ । यसको अर्थ सम्बन्ध सुधारका लागि चीन र अमेरिकी पक्षको गृहकार्य चलिरहेको बुझ्न सकिन्छ ।
दक्षिणी चिन सागरमा चीनको सैन्य गतिविधि, आयात निर्यातमा अतिरिक्त भन्सार शूल्क, रुस युक्रेन युद्द, इजरायल हमास युद्ध लगाएतका विषयमा अमेरिका र चीनबिच गहिरो मतभेद छ । एकअर्काबिचको यो निषेधको मनोविज्ञानले द्वन्द्वको रुप नलियोस भन्ने उद्धेश्यले यो भेटघाट भएको बुझिएको छ ।
बाइडेन र सी बीच के–के भयो सहमति ?
– सैन्य सम्पर्क फेरि स्थापित गर्ने
– अन्तर्राष्ट्रिय मुद्दाहरुमा कुनैपनि बेला टेलिफोन संवाद गर्ने
– चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि ‘फेन्टेनाइल’को उत्पादनमाथि रोक लगाउने
– आर्टिफिसियल इन्टिलिजेन्स एआई मा चीन–अमेरिकासँगै मिलेर काम गर्ने
दुई देशका प्रमुखबीच भएका यी सहमतिले विश्वसमूदायमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यद्दपी, केहि विषयमा अझै अमेरिका–चीनबीच तुष बाँकी रहेको छ । अमेरिकाले ताइवानलाई हतियार निर्यात गर्न बन्द गरेर एक चीन नीतिप्रति प्रतिबद्धता मागेपनि बाइडेनले यसमा प्रवेश गर्न चाहेनन् । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेदेखिनै यो विषयमा चिन आशंकित बनेको थियो । यता बाइडेनले पनि यो वार्ताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई देशबिचको प्रतिस्पर्धा भने अन्त्य नहुने बताएका छन् । उनले सि जिनपिङलाई तानासाहको संज्ञा दिएका छन् । यस्तोमा अमेरिका र चीनबिचको सम्बन्ध अब कसरी अगाडी बढ्ला, चासोको विषय बनेको छ ।