
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता केदार कार्की असोज २७ गते कोशी प्रदेश मुख्यमन्त्री बनेका थिए । पार्टीबाटै विद्रोह गरी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमालेलाई सँगै हिडाउन सकेनन् । माओवादीलाई पनि साथ लिँदा बिच्किएको एमालेले आफ्नो सरकार छाडेपछि कार्की मन्त्रिपरिषद् पूर्णता दिने तरखरमा छन् । एमालेले छाडेपछि सरकार विस्तार गर्न त सहज भएको छ । तर उनलाई एमालेले कहिले सम्म टेको देला त ?
सात प्रदेशमध्ये सबैभन्दा अस्थिर प्रदेशमा पर्छ, कोशी । २०७९ मंसिरमा संघ र प्रदेशको निर्वाचन सम्पन्न भएपछि सरकार निर्माणका लागि बनेको एमाले–माओवादी गठबन्धन टुटेपछि कोशी प्रदेशको सत्ता राजनीति सबैभन्दा बढी अस्थिर बनेको हो । केन्द्रीय सत्ता गठबन्धन दलहरुबीचको गठबन्धन बनेर पनि बहुमत जुटाउन नसकेपछि सरकार बन्ने र भत्किने क्रममा रहेको कोशी सरकार पछिल्लो समय एमालेकै काँधमा टिकेको छ ।
२०७९ पुस २५ गते माओवादीकै समर्थनमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । केन्द्रमा एमालेले माओवादीको साथ छाडेपछि कोशीमा माओवादीले एमालेको साथ छाडिदियो । माओवादीले काँध झिकेपछि कार्की गत असार २० गतेबाट सरकारको नेतृत्वबाट बाहिरिए । त्यसपछि कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन संविधान विपरित नै अघि बढ्यो । सभामुख समेतको मतले मुख्यमन्त्री घोषणा गरिएका थापा झण्डै २ महिना मुख्यमन्त्रीको रुपमा झण्डावाल गाडीमा हुइँकिए । तर उनको कार्यकाल नै बैध नभएपछि कहिलेदेखि कहिलेसम्मका मुख्यमन्त्री भए भन्नेसमेत ठेगान भएन । सर्वोच्चको परमादेशले हिक्मत कार्की पुनः मुख्यमन्त्री भए । तर उनले विश्वासको मत नपाउँदा असोज २७ गते मुख्यमन्त्रीबाट मुक्त भए ।
यस्तै, अन्यौलतामा गुज्रिएको कोशीबाट नै एमालेको कांग्रेस फुटाउने प्रयत्न गर्यो । सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध खडा भएका कांग्रेस संस्थापन इतर पक्षका नेता केदार कार्कीलाई एमालेले टेको लगाइदियो । एमालेको काँधमा मुख्यमन्त्री बनेका कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै शैलीमा एमालेलाई कोशीमा तिल्मिलाउन खोजे । जसका कारण कार्कीको मन्त्रिपरिषद्मा समेटिएका राम रानामगर सरकारबाट बाहिरिए । एमालेका मन्त्री बाहिरिएपछि कार्की पुरानै गठबन्धनको सरकार बनाउन ढोका खुलेको छ ।
त्यसैले तिहारअघि नै कार्कीले मुख्यमन्त्रीसहित कांग्रेसलाई ४, माओवादीलाई ३ र एकीकृत समाजवादीलाई १ मन्त्रालय दिने गरी भागबण्डा मिलाएका छन् । विश्वासको मत समेत दिएर काँध थापिदिएको एमालेलाई कार्कीले विश्वास टुटाए पनि प्रतिपक्षको बेञ्चमा पुगेको एमालेले भने टेको दिइरहेको छ । यहि टेकोमा अडिएर मन्त्रालय भागबण्डा गरेका कार्कीले छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । एमाले सरकारबाट बाहिरिएपछि कार्कीलाई मन्त्रिपरिषद् पूर्ण बनाउन त सहज भएको छ । तर एमालेको टेको कहिले फुस्किने हो ठेगान छैन । एमालेको ढोक्सामा माछा नपरेपछि सधैँ नै ढोक्सा थापिरहन्छ भन्ने छैन । त्यसैले केदार कार्कीको कोशी प्रदेश सरकार कहिलेसम्मका लागि हो अहिले नै यसै भन्न सकिँदैन ।