
काठमाडाैँ । यसपालिको तिहारकोलागि एक अर्बभन्दा बढीको भाइ मसला आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोजसम्म १ अर्ब १४ करोड बराबरको सामग्री आयात भएको छ । काजु, बदाम, पेस्ता, नरिवल, किसमिस, ल्वाङ, मखन, ओखर लगायतका सामग्रीहरु आयात भएको विभागले उल्लेख गरेको छ । तर गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयातमा कमि भएको देखिन्छ । जुन गत वर्ष सोही अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको भाइमसला आयात भएको थियो । तिहारमा दिदिबहिनीहरुले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा भाईमसलाको प्रयोग गर्ने भएकाले यसको खपत बढी हुने गरेको छ ।
तिहारमा ४० लाख थान माला खपत
नेपाल फ्लोरीकल्चर एसोसिएसनले यसपालीको तिहारमा करिब ४० लाख थान फूलका माला खपत भएको जनाएको छ । यस वर्षको तिहारमा मखमली, गोदावारी, सयपत्री जस्ता फूलहरुबाट बनेका उक्त परिमाणमा खपत भएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ्को दाबी छ । जसमध्य सयपत्री माला ३५ लाख, मखमली माला ४ लाख ५० हजार, गोदावरी माला २० हजार थान, मिक्स माला ३० हजार थान खपत भएको हुन सक्ने अध्यक्ष तामाङ्ले बताए । यस्तै, अहिले मुलुक मखमली र गोदावरी फूलमा आत्मनिर्भर भइसके पनि सयपत्री फूल आयात गर्नुपर्ने अवस्था रहेको र सरकारले यस वर्ष सयपत्री फूल आयातका लागि आवश्यकताभन्दा बढी अनुमति दिएको भन्दै अध्यक्ष तामाङले सरकार प्रति असन्तुष्टि व्यक्त गरे ।
बैंक तथा वित्तीय संस्थाहरुको तरलता उपयोग
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे २ खर्ब रुपैयाँ तरलता उपयोग गरेका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा केन्द्रीय बैंकमार्फत स्थायी तरलता सुविधा र ओभरनाइट तरलता सुविधाबापत बैंक तथा वित्तीय संस्थाहरुले कूल २ खर्ब ३९ अर्ब ४९ करोड रुपैयाँ तरलता उपयोग गरेका हुन् । जसमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत २ खर्ब ३८ अर्ब २९ करोड उपयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।
इफाप्का सम्मेलन मार्फत् लगानी भित्रने आशा
नेपाल निर्माण व्यवसायी महासंघले ४६ औँ इफाप्का सम्मेलन मार्फत् मुलृुकमा लगानी भित्र्याउन सकिने जनाएको छ । अहिले नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलन यहि आउदो मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँमा हुँदैछ । हाल महासंघका अध्यक्ष रवि सिंह इफाप्का अध्यक्षको भूमिकामा छन् । उक्त सम्मेलनमा १८ वटा देशका निर्माण व्यवसायीहरु नेपाल आउने महासंघले जनाएको छ । इफाप्का सम्मेलन मार्फत नेपालमा करिब पाँच लाख डलर बाराबरको कारोबार हुने भएकाले पनि अहिले सुस्त रहेको मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पुग्ने महासंघले जनाएको छ ।
नेपाल टेलिकमको आय रु. ३९ करोडले संकुचन
नेपाल टेलिकमको आयमा भारी गिरावट आएको छ । टेलिकमको प्रथम त्रैमासको वित्तीय रिपोर्टअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमको कूल आय ३९ करोड रुपैयाँले घटेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा टेलिकमको कूल आय ३ दशमलव ५ प्रतिशते कम हो । कम्पनीले यो आवको पहिलो त्रैमासमा १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको छ । आर्थिक मन्दी, विदेशी विनिमय दरमा भएको परिवर्तन, बैंक तथा वित्तिय संस्थाको ब्याजदरमा भएको परिवर्तन, लगायत विभिन्न प्राविधिक तथा व्यवस्थापकिय क्षमताका कारण टेलिकमको आम्दानी घटेको विज्ञहरुको भनाई छ ।