
- केजिन राई
काजाब्लांका क्यासेल्लो । युरोप भ्रमणमा रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘एकपटकको नेपाली सँधैको नेपाली’ भन्ने भावनाले नै संविधानले संसारभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई सामाजिक सांस्कृतिक आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको बताएका छन् ।
आइतबार बेल्जियममा संघिय समाज बेल्जियमद्वारा आयोजित कार्यक्रममा मन्त्री राईले गैरआवासीय नेपालीहरुले दोहोरो राजनीतिक अधिकारसहितको नागरिकता खोज्न नहुने आशय व्यक्त गरेका छन् ।
हाल नेपालीहरुले विभिन्न देशमा चुनाव नै लडिरहेको भन्दै त्यही व्यक्तिले फेरि नेपालमा पनि चुनाव लड्न पाउने राजनीतिक अधिकारसहितको नागरिकता खोज्न गारो हुने उनको भनाइ छ ।
उनले एकपटकको नेपाली सधैको नेपाली भन्ने कुरा भावनात्मक भए पनि यथार्थमा सोच्नु पर्ने बताए ।
विदेशी नागरिकता त्यागेर लगातार पाँच वर्ष नेपाल बसेको खण्डमा नेपालमा राजनीतिक अधिकारसहितको नागरिकता पाउने व्यवस्था पनि उनले स्मरण गराए ।
अमेरिकाको नागरिकता त्यागेर नेपालमा राजनीति गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने गृहमन्त्री बनेको उदाहरण दिँदै उनले भने, ‘तपाईं लगातार पाँच वर्ष नेपालमा बस्नुहोस्, विदेशको नागरिकता त्याग्नुहोस् । तपाईं मजाले राजनीतिमा भाग लिन सक्नुहुन्छ ।’
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका मन्त्री राईले आफ्नो पार्टीका नेता गम्बु शेर्पा अमेरिकाको नागरिकता त्यागेर चुनाव लडेर ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको बताए ।
सो क्रममा मन्त्री राईले शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्याहरुलाई सुधार गर्ने गरी शिक्षा ऐन प्रस्ताव गरिएको बताए ।
संसदमा छलफलको क्रममा रहेको उक्त ऐन पारित भएर कार्यान्वयन भएपछि शिक्षा क्षेत्रका धेरै समस्याहरु हल हुने उनले बताए ।

उनले निजी विद्यालयहरुको विस्तार हुने कारणको जड सरकारी विद्यालयहरुको सुधार हुन नसक्नु रहेको औल्याए ।
सो क्रममा उनले देशको अर्थतन्त्र सुदृढ हुन नसक्नुले नै नेपालीहरु रोजगारी र अवसर खोज्दै विश्वका विभिन्न देशमा पुगेको बताए ।
कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी, बेल्जियममा रहेका जसपाका अध्यक्ष नेत्र मगरको सभापतित्वमा आयोजित अन्तरकृया कार्यक्रमको सन्चालन लोक राना मगरले गरेका थिए । ।
नेकपा एमाले बेल्जियम अध्यक्ष चन्द्र कुमारी गुरुङ (ईशा) , महासमिति सदस्य तथा नेपाली कांग्रेस बेल्जियम कार्यबाहक अध्यक्ष सुवास गुरुङ , आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगर ,नेकपा माओबादी बेल्जियम ऊपाध्यक्ष मनिस तमु, गैर आवासीय नेपाली संघ बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल र पार्टीका नेता तथा कार्यकर्ताहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र अन्य सहभागीहरु थिए ।
नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता दिन सकिने व्यवस्था गरेको छ ।