२७ कार्तिक २०८०, सोमबार
  • केजिन राई

ब्रसेल्स । सन् १९१४ देखि १९१८ सम्म भएको मानव नरसंहार प्रथम बिश्व युद्धमा बेल्जियमको इपर रणभुमीमा बीर गति प्राप्त गरेका ५८ जना वीर गोर्खालीलाई पहिलो बिश्व युद्ध बिराम भएको दिन ११ नोवेम्बरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो ।

नेपाल दूतावास बेल्जियमद्वारा निर्मित गोर्खा सैनिकको स्मारक रहेको स्थानमा महामहिम राजदुत गेहेन्द्र राजभण्डारी ज्यूको प्रमुख अथित्यमा तमु समाज बेल्जियमको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम भएको थियो ।

सन् १९१५ को अगस्ट महिना ताका भएको भीषण युद्धमा पहिलो पटक जर्मनी सैनिकहरुले बिषालु ग्यासको प्रयोग गरिएको इपर राणभुमीमा मात्रै करिब २० लाख मानिसहरुको मृत्यु (दुई वटा बिश्व युद्धमा) भएको थियो ।

प्रत्यक्ष रुपमा हाम्रो देश नेपाल सहभागी नभए पनि तत्कालीन अवस्थामा ईष्टइन्डिया कम्पनी मार्फत गोर्खा पल्टनमा भर्ती भै मित्र रास्ट्रको पक्षबाट नेपालीहरुले थुप्रै लडाईहरुमा लडेका थिए ।

बेल्जियमको इपर रणभुमीमा मात्रै ५८ जना गोर्खा सैनिकले वीर गति प्राप्त गर्नु भएको हुँदा तिनै वीर गोर्खाहरुको सम्मान एंव सम्झनामा सन् २००३ देखि तमु बेल्जियमको आयोजनामा हरेक बर्ष श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै आईरहेको क्रममा यस पटकको कार्यक्रममा भने एक मिनेट मौन धारण गरि सकेपछि समाजको तर्फबाट महामहिम राजदूतलाई स्मारक बारे ध्यानाकर्षण गराउदै समाजका अध्यक्ष होम तमुले ज्ञापन पत्र हस्तान्तरण गरे।

विशेष गरि निर्मित शालिकलाई गोर्खा सैनिकको पहिचान झल्किने खाले बनाउनु पर्ने ,स्मारक क्षेत्रलाई सरसफाईको लागि स्वयं सेवक समिति गठन गर्नु पर्ने, ५८ जना वीर गोर्खालीको नाम शालिक भएको स्थानमा राखिनु पर्ने बिषयलाई अत्यन्तै महत्त्वपूर्ण साथ उठान गरिएको कुरा ज्ञापन पत्रमा समेटिएको थियो ।

साथै सम्बन्धित निकाय मार्फत गोर्खा सैनिक झल्किने खाले शालिक निर्माणको लागि अनुमति पाएमा सम्पूर्ण खर्चको ब्यवस्थापनको संयोजन तमु समाज बेल्जियमले गर्ने कुरा पनि ज्ञापन पत्रमा जनाईएको छ ।

कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष राम घलेले स्वागत गरेका थिए । प्रमुख अतिथि महामहिम राजदूत गेहेन्द्र राजभण्डारी ज् , अधिवक्ता एंव पत्रकार महेश थापा एंव एन. आर. एन. केन्द्रिय महिला संयोजिका अनुजा प्रधान लगायतले वीर गोर्खा प्रति श्रद्धा सुमन अर्पण गरेका थिए ।

समाजका सल्लाहकार नन्द राज घलेले ज्ञापन पत्र पढेर सुनाएका थिए । कार्यक्रममा नेपाली समुदाय ओस्टेन्डेका महासचिव श्री अच्युत पौडेल ,किराँत याकथुङ्ग चुम्लुङ्गबाट पेमावती लिम्बू,प्रवासी नेपाली मन्च बेल्जियमकी अध्यक्ष श्री चन्द्र कुमारी (इशा) गुरुङ्ग,कास्की समाज बेल्जियमका अध्यक्ष श्री जीवन तमु,पर्वत समाज बेल्जियमको अध्यक्ष नन्द कुमारी (दुर्गा) गुरुङ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुका साथै नेपालबाट आएका अतिथिहरुलाई समाजका अध्यक्ष होम तमुले धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रम समाजका महासचिव चित्र जङ्ग तमुले संचालन गरेका थिए ।

LIVE TV