
काठमाडौँ । नेपालीहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार शुरु भइसकेको छ । यो चाडलाई उज्यालो पर्वका रुपमा पनि बुझिन्छ । अर्थात् तिहारमा रातभर पनि अँध्यारो हुन नदिन बत्तीहरु बालिन्छ । रमाइलोका लागि देउँसी–भैली खेलिन्छ । दिदीबहिनी तथा दाजुभाईबीच प्रेम स्नेह बढाउन पनि तिहारले ठुलो भूमिका खेल्छ । धार्मिक महत्वले भरिएको पाँच दिने यो चाडमा यस वर्ष कुन दिन के गर्ने ? अनि, मुलुकभर सुरक्षा व्यवस्था कसरी मिलाइदै छ त ?
नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अर्थात यमपञ्चक प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । यस वर्ष शनिबारदेखि तिहार शुरु भएको छ । शनिबार कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले बेलुकी यमदीपदान शुरु गरिएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
यमपञ्चकको पहिलो दिन काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । त्यसैले शनिबारदेखि नै यमपञ्चक शुरु भयो । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
कात्तिक २६ गते आइतबार विहानै नरक स्नान गरेर कुकुर तिहार पर्व मनाउनु पर्नेछ भने बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने छ । गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म अर्थात म्ह पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ ।
कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म अर्थात म्ह पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ । भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १० बजेर ५१ मिनेट रहेको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने ज्योतिषहरु बताउँछन् । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ ।
यसैबीच यस वर्ष तिहारमा शान्ति सुरक्षा कायम गर्नका लागि पूर्ण प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ । स्थानीय सरकारहरुले पनि देउसी भैलोलगायतका कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउन प्रहरीसँग समन्वयगरि व्यवस्थापकीय काम गरिरहेका छन् । काठमाडौं महानगरले त देउसीभैली राति १ बजेसम्म नै खेल्न पाउने गरि सुरक्षा व्यवस्था मिलाएको छ । विगतका वर्षमा काठमाडौंमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न दिइन्थ्यो । यसैबीच तिहारमा पट्काइने पटाकाहरुलाई पनि कडाईका साथ प्रतिबन्द्ध लगाउने प्रयास भइरहेका छन् ।