
- श्यामहरि चौलागाईं
जर्मनीका प्रसिद्ध कवि एवं दार्शनिक फ्रेडरिक नित्से भन्छन् – जुन मानिस खतरासित बाँच्दछ, उसैले आनन्द प्राप्त गर्दछ । आज यस्तै जीवनपर्यन्त खतरासित जुधेका एक अथक योद्धाको विषयमा चर्चा गर्दैछु । नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ नेता, सादा जीवन उच्च विचारका धनी, त्याग र संघर्षका अद्वितीय उदाहरण, नेपाली राजनीतिका अद्भूत व्यक्तित्व, लौहपुरुष गणेशमान सिंह यस धर्तीमा प्रकट भएको दिन । आज उहाँको १०९ औँ प्राकट्य दिवसको अवसरमा गणेशमान सिंहका त्याग, संघर्ष र साहसका केही किस्साहरु यस आलेखमार्फत प्रस्तुत गर्ने जमर्को गरेको छु ।
मानिस विगतमा फर्किनुको अर्थ छैन भन्छ र वर्तमान र भविष्यप्रति मात्र सचेत हुन्छ तर विगतको जगमा वर्तमान अडेको हुन्छ। गणेशमानका संघर्षका कथा आजका विचारशून्य तथा स्वार्थको भुमरीमा रुम्मलिएका कांग्रेसीको निम्ति तिलस्मी कथाजस्तो मात्र लाग्न सक्छ । गणेशमानको त्याग, साहस, संघर्ष र बलिदानीको कथा सुन्दा कुनै तिलस्मी कथाको नायकजस्तो लाग्ने पात्र नेपाली राजनीतिका युगपुरुष हुन् ।
राणाकालीन समयमा सम्भ्रान्त काजी परिवारमा जन्मिएका गणेशमानलाई कुनै भौतिक सुख-सुविधाको कमी थिएन । तर उनलाई सुख, सुविधा, भोग, विलासले कहिल्यै छोएन । जनतालाई अधिकार दिलाउन जीवनका हरेक क्षण संघर्ष र विद्रोहबाट आफूलाई जीवन्त रुपमा उभ्याए । दाउपेचको राजनीतिभन्दा खुला संघर्ष गणेशमानको प्रिय माध्यम थियो । आफूलाई बलिवेदीमा चढाएर जनतालाई शक्तिशाली बनाउन चाहने सिंहले प्राप्तिभन्दा सधैँ संघर्ष रोजिरहे । त्यसैले सधैँ भन्ने गर्थे- ‘हामी शिरमा कात्रो बेरेर राजनीतिमा आएका हौँ । आन्दोलन र राजनीति केही पाउनको लागि होइन गुमाउनको लागि हो ।’
नेपालकै जेठो पार्टी प्रजा परिषद्को सदस्य भई राणा हटाउ अभियानमा सक्रिय रहेका सिंहले आफ्नो जीवनको करिब ६ दशक लामो कालखण्डमा करिब डेढ दशक जेल जीवन तथा डेढ दशक प्रवासमा बिताए। आफूसँगै एकैदिन एउटै मुद्दामा समातिएका गंगालाललाई मृत्युदण्डको सजाय सुनाएपछि सहिदको रगतप्रति निष्ठावान् गणेशमानलाई राणा शासनको कालकोठरीको पर्खालले छेक्न सकेन । करिब १२ फिट अग्लो भद्रगोल जेलबाट भाग्न सफल भए ।
भद्रगोल जेलबाट फरार भएका गणेशमानको भेट भारतमा वीपीसँग हुन्छ । कामना गरेर मात्र देशमा राणाशासन हट्दैन भन्ने बुझेका गणेशमानले भारतमा वीपीसँग मिलेर नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे । निडर, हक्की तथा जुझारु स्वभावका गणेशमान सधैँ कि वार कि पारको युद्धको पक्षमा रहन्थे ।
२००७ सालको क्रान्तिमा विरगञ्जको मोर्चा सम्हालेका गणेसमानले संघर्षका हिसाबमा वीपीले भन्दा पनि लामो समय प्रजातन्त्रको लागि लडे । गणेशमानलाई वीपीले समेत वीर गणेशमान भनेर सम्बोधन गर्ने गर्थे। गणेशमान जीवनपर्यन्त वीपीको सच्चा अनुयायी बनिरहे । जीवनमा कहिल्यै कसैसँग नझुकेका लौह पुरुष गणेशमानको व्यक्तित्व अनौठो थियो । उनी एकातर्फबाट हेर्दा चट्टानझैँ देखिन्थे भने अर्कोतिरबाट हेर्दा फूलझैँ कोमल देखिन्थे । राजनीतिक रुपमा जति कठोर थिए, भावनात्मक रुपमा त्यति नै कोमल हृदयका धनी थिए । कविता सुन्न मन पराउने गणेशमान दुःखमा परेका हरकोहीलाई सहयोग गर्थे ।
गणेशमान जीवनपर्यन्त नेपाली जनताको अधिकार स्थापित गर्न निरन्तर लडिरहे । राणा, राजा र पञ्चायतको विरुद्ध एक अटल पहाडजसरी अडिग रहे । राणाकालीन ३ प्रधानमन्त्री जुद्ध शमशेर ,पद्म शमशेर र मोहन शमशेर तथा नेपालका ३ जना राजाहरु त्रिभुवन, महेन्द्र र वीरेन्द्र अनि ३० वर्षे पञ्चायती व्यवस्थाको विरुद्धमा निरन्तर संघर्ष गर्नु सामान्य कुरा थिएन । एकतन्त्रिय पञ्चायती व्यवस्थाका विरुद्ध सबै दलहरुलाई एकताबद्ध गरेर एउटा महान क्रान्तिको नेतृत्व गर्न एउटा अद्भुत कला चाहिन्छ । उनले आफ्नो अद्भुत कौशलको माध्यमबाट सबैखाले शक्तिहरुलाई एकताबद्ध गरेर आन्दोलन अगाडि बढाए ।
निरंकुश शासक र तानाशाहले वार्ताको भाषा बुझ्दैन त्यससैले निर्णायक आन्दोलन गर्नुपर्छ भन्ने गणेशमानको बुझाइ थियो । राजाले पूर्णरूपमा पञ्चायत विघटन नगरेसम्म राजासँग भेट्दिनँ भन्ने अडान राखेका उनले प्रजातन्त्र पुनर्बहाली भएको घोषणा नगरेसम्म राजासँग भेट गरेनन् । राजासँगको भेटमा राजाले प्रधानमन्त्रीको प्रस्ताव राखे तर गणेशमानको लागि राजनीति कहिल्यै सत्ताको सोपान थिएन ।
करिब ५ दशक लामो संघर्ष पश्चात् राजनीति गर्ने मानिसको लागि सर्वोच्च पद मानिने प्रधानमन्त्रीको पद हातैमा आउँदासमेत आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई अघि सारे । यसबाट उनको त्यागको अद्वितीय उदाहरण प्रस्तुत हुन्छ । गणेशमानबाट अहिलेको लोभको राजनीतिमा चुर्लुम्म डुबेकाले सिक्नुपर्ने कुरा धेरै छ । गणेशमानको निष्ठाको पहाड निकै उचो छ । जीवनमा कहिल्यै गुटउपगुटको राजनीति नगरेका गणेशमान नेपाली कांग्रेसको सभापति त भएनन् तर उनको भूमिका र योगदान कुनै सभापतिको भन्दा कम रहेन । उनको स्थान आज पनि विशिष्ट र उच्च रहेको छ । गणेशमानको विचारमा पार्टी सत्तामा जानु मात्र ठुलो कुरा होइन, जनताका विचार र भावनालाई जोड्न सक्नु नै ठूलो उपलब्धि हो । पार्टी आर्थिक सामाजिक रुपान्तरणको माध्यम बन्नपर्छ भन्ने उनकाे विचार थियो । तर पार्टी आर्थिक सामाजिक रुपान्तरणको माध्यम बन्नुको साटो सुख-सुविधा र सत्ता प्राप्त गर्ने अस्त्र बन्दै गयो । राजनीति व्यापार बन्दै गयो र नाफा कमाउने आधार बन्दै गयो । परिवर्तनको वाहक शक्तिले नै बाटो बिराउँदै गएपछि अपमानको घुट्की पिएर कांग्रेस भएर बस्नुभन्दा ससम्मान कांग्रेस परित्यागको घोषणा गरे ।
राजनीतिबाट नैतिकता निकालिदियो भने त्यो व्यापार बन्छ भन्ने गणेशमानको विचार थियो । उनको यो विचार नेपाली राजनीतिमा चरितार्थ भएको छ । राजनीतिलाई व्यापार बनाएर सत्ताको सोपान चढ्न लालायित भीड नेपाली काङ्ग्रेसमा हाबी भएकाे छ । आज हाम्रा माझमा न त गणेशमान छन् न त उनले परिकल्पना गरेजस्तो कांग्रेस छ । तर गणेशमान आफ्नो त्याग ,समर्पण र संघर्षका माध्यमबाट हरेक नेपालीका मन-मस्तिष्कमा अमर छन् । उनलाई सर्वमान्य नेताको पदवी केवल कांग्रेसले मात्र दिएका होइनन्, देशले नै सर्वमान्य नेताको रुपमा स्वीकार गरेकाे हाे ।
आज देश विश्वकै उत्कृष्ट शासन व्यवस्था मानिने बहुदलीय गणतन्त्रात्मक शासन प्रणालीमा गएको छ । गणतन्त्रभन्दा राम्रो व्यवस्था संसारमा अरु कुनै मानिँदैन तर पनि जनतामा आक्रोश बढ्दो छ । जनताकाे हालतमा कुनै परिवर्तन देखिएन । बेराजगारीले गर्दा दिनदिनै युवाहरू विदेशिने क्रम बढेको छ । महङ्गी, भ्रष्टाचार र कालो बजारीले सीमा नाघेको छ । हिजो गणेशमानहरुले प्राण हत्केलामा राखेर ल्याएको प्रजातन्त्र आज ‘बाँदरको हातमा नरिवल’ भएको छ ।
(लेखक नेपाली कांग्रेस, रौतहट जिल्ला कार्यसमिति सदस्य हुन् ।)