२४ कार्तिक २०८०, शुक्रबार

काठमाडौं । एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो ।

उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन ।

सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँडे । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै थिइन् । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए ।

सासू सुनिता बादीले भनिन्, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”

अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र बाटो हो । तर सुत्केरीका लागि त्यो पनि हिमाल चढे जस्तै भयो ।

मीना अलि पर नपुग्दै थर्थरी काँपेर उभिन नसकेर थचक्क बाटामै लडिन् । नलगाड नगरपालिका–७, दल्ली भेरी पारिको किनारको बस्ती हो । वरिपरि लहरै भत्केका घर, छेउमा कतै त्रिपाल, कतै झिँजामिजाले टालेका टहरा धमाधम बनाइँदै थिए । भूकम्पको पीडाले थलिएकाले होला । सुत्केरीलाई सघाउन कोही आएनन् ।

घर भत्किएर खण्डहर थियो । जताततै भत्किएकाले नभत्किएको पर्खालको बरन्डाको खाटमा उनी थचक्क बसिन्। एकछिन पीडाले मीनाले दाह्रा किटिन्, आँखा रसाए । चपक्क आँखा चिम्लेर खाटमा ढलिन् ।

छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर उभिए ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

LIVE TV