
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । करिब तीन महिनाअघि हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको थियो । उक्त घटनाले देशभरको सेवा प्रभावित बनेपछि यस्ता घटना हुन नदिन भन्दै सरकारले छ बुँदे सहमती गरेको थियो । सहमतिको मसी नसुक्दै स्वास्थ्यकर्मीमाथि दुब्र्यवहार भइरह्यो । अहिले पुनः ललितपुरको पाटन अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
विरामीका लागि चिकित्सक भगवान समान हुन् । कतिपय मृत्युकै मुखमा पुगेका विरामीहरुले डाक्टरको पुनर्जीवन नै पाइरहेका हुन्छन् । निको भएका विरामीहरुबाट प्रशंसा पाउने डाक्टरहरु विरामीलाई तलमाथि भइहाल्यो भने चाँही लापर्वाहीको आरोप खेप्नुपर्छ । करिब तीन महिनाअघि हेटौडास्थित सञ्चो अस्पतालमा डाक्टरको लापर्वाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पतालभित्रै मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट नै गरेका थिए । आइतबार पुनः पाटन अस्पतालमा सोहि प्रकृतिको घटना दोहोरिएको छ । यसरी चिकित्सकमाथि नै दुब्र्यवार गरिँदा अन्य विरामीलाई समेत प्रभाव पर्छ ।
कतिपय अवस्थामा चिकित्सकको लापर्वाही पनि नभएका होइनन् । सामान्य अवस्थाका विरामीको अप्रत्याशित मृत्यु भएमा आशंका हुनु स्वभाविक हो । तर डाक्टरको लापर्वाहीले विरामीको मृत्यु भएका मेडिकल काउन्सिलमा उजुरी गर्न सकिने ब्यवस्था छ । त्यसैले वेप्रवाह रुपमा चिकित्सक माथि जाइलाग्ने कार्यले अस्पतालका अन्य विरामीलाई नराकारात्मक प्रभाव पर्न सक्छ । यस्तो कार्यले आफूहरुको मनोवल कमजोर हुने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुले कुनै पनि विरामीको उपचारमा खेलवाड गर्नु उचित हुनै सक्दैन । यस्तो अवस्थामा मेडिकल काउन्सिल ऐन आकर्षित हुने भएकाले त्यसतर्फ विरामीका आफन्तले जोड दिनु जरुरी छ । साथै कुनै पनि फौजदारी लापरबाही भएर बिरामीको मृत्यु भएको वा अङ्गभङ्ग भए त्यसमा फौजदारीसंहिता आकर्षित हुने गर्दछ । विरामीमाथि लापर्वाही गर्ने स्वास्थ्यकर्मीमाथि सम्बन्धित निकायले कडा भन्दा कडा कारबाही गर्नु जरुरी छ । तर कानून हातमा लिने गरी चिकित्सकमाथि नै हातपातमा उत्रिदा आफू नै कानूनी कठघरामा उभिनुपर्ने अवस्था आउनेछ ।