१६ कार्तिक २०८०, बिहीबार
  • अस्मिता तिवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले आफ्नो चार वर्षे कार्यकाल सकाएका छन् । २०७६ कार्तिक १७ गते तत्कालीन प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति के.पी. शर्मा आलीले वास्कोटालाई त्रिविका उपकुलपतिमा नियुक्त गरेका थिए । कार्यभार सम्हालेको २५ औं दिनमा त्रिवि सभा मार्फत वास्कोटाले १५ सूत्रीय त्रिवि सुधार योजना अघि सारेको थिए । तर राजनीतिक दलको दवाव, विद्यार्थी नेताका बन्द हड्ताल लगायत कानुनी प्रावधानका कारण ती योजना सफल हुन सकेनन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले आफ्नो चार बर्षे कार्यकाल पूरा गरेका छन् । कार्यकाल पूरा गरी बिहिबारदेखि उनी पदमुक्त हुँदैछन् । आफू पदमुक्त हुँदै गर्दा बास्कोटाले बुधबार आफ्नो कार्यकालमा गरेका कामको फेहरिस्त सुनाएका छन् । उनले आफूले गरेको काम र विभिन्न ब्यवधानका कारण गर्न नसकेका योजनादेखि आगामी दिनमा गर्नुपर्ने काम पनि सार्वजनिक गरेका छन् ।

त्रिवि सुधारका लागि बास्कोटाले गरेका प्रयास

– त्रिभुवन विश्वविद्यालयको भौतिक पूवार्धारमा सुधार
– त्रिविलाई प्रविधिमैत्रीका साथै अनुसन्धानलाई प्रथमिकता
– त्रिवि शैक्षिक पात्रोको व्यवस्था र त्यसको पालना
– परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरण
– बजारमुखी स्वारोजगारमूलक तथा देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादन
– शिक्षक कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी उत्प्रेरणा जगाउने कामको थालनी
– आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको प्रभावकारी नियमन
– सरकार र उपभोक्ताहरुसँग समन्वयन गरी पाठयक्रमको परिमार्जन
– उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण तथा विद्यार्थीलाई खेलकुदको व्यवस्था
– त्रिविको सम्पत्ति पहिचान गरी नियमन गरी संस्थाको हितमा प्रयोग

वास्कोटाले आफुले गरेका कामको फेहरिस्त सुनाए पनि त्यो भन्दा बढी त्रिवि बन्द हड्तालको चेपुवामा थियो । बास्कोटाले गर्न नसकेको कामको विवरण पनि पेश गरे । राजनीतिक दलका दवाव र कतिपय कानुनी प्रवधानका कारण त्रिवि सुधारका लागी अघि सारेका योजना विफल भएको उनको गुनासो थियो ।

वास्कोटाको चार वर्षे कार्यकालमा एक वर्ष भन्दा बढी भिसिको कार्यालय नै बन्द भएको थियो । विद्यार्थी नेताको दवाव, तालाबन्दी र बन्दहडतालका साथै पदाधिकारीहरुलाई डरत्रास पनि उत्तिकै थियो ।

विश्वविद्यालयभित्र बढ्दो राजनीतिकले गर्दा त्रिभुवन विश्वविद्यालयको भित्रभित्रै धमिरा लागेको छ । त्यसैले भित्रभित्रै धमिराले मक्किएको त्रिविको सुधारका लागि जगबाट नै उठाउनका लागि गम्भीर ढंगले लाग्न जरुरी छ । त्रिविमा देखापरेका तमाम समस्याको समाधानका लागी विश्वविद्यालयको कुलपति र सहकुलपति मात्र होइन, सरोकारवाला सबैले तदारुकता देखाउन आवश्यक छ ।

LIVE TV