
काठमाडाैँ । दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपि हिमालमा पहिलोपटक छायाङ्कन गरिएको म्युजिकल फिल्म ‘आएँ म त’ सार्वजनिक भएको छ ।
मौसमका कारण धेरै एडभेन्चर शो हरुले समेत छायांकन गर्न नसकेको करिब ७ हजार १३२ मिटर उचाइ रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एवं निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् ।
काठमाडाैँको बसन्तपुरदेखि दार्चुलाको अपि हिमालसम्मका दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको गायक एवं निर्देशक भट्टले जानकारी दिए ।
धनगढीकी स्थानीय कलाकार बोन्दिता धामी र दार्चुला अपिका स्थानीयको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्य र गाउँको जनजीवनलाई एउटा दरिलो श्रव्यदृश्य मार्फत प्रस्तुत गरेको छ ।
सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भएकाे भिडियो हेर्दा दार्चुलाको अपि क्षेत्र लगायत समग्र नेपालको पर्यटनको लागि एउटा कोसेढुंगाको काम निर्माण टिमकाे दाबी छ ।
म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक ‘आएँ म त’ भिडियो मोबाइल एप्स मोमो एपमा समेत उपलब्ध छ । भिडियो समग्र दार्चुला जिल्ला र अपि गाउँपालिकाको प्रचारप्रसार माध्यम बन्ने देखिन्छ।
राजु भट्टको आफ्नै शब्द ,संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको ‘आएँ म त’ गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ।