
भारत । भाग्शु धर्मशालामा विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ विमोचित भएको छ । हिमाचल पञ्जाव गोर्खा एशोसियसनको १०७ औं वार्षिक उत्सवमा ख्यातिप्राप्त फुटबलर तथा कार्यक्रमका विशेष अतिथि श्याम थापाको हातबाट पुस्तकको विमोचन भएको छ ।
लाहुरेको रेलिमाई आदिव्यग्यकार तथा फस्ट गोर्खा राइफलका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास हो । आफ्नो मन्तव्यको क्रममा उपन्यासकार हितानले, ‘भाग्शु धर्मशाला मास्टर मित्रसेनको गृह नगर भएको र यस पवित्र ऐतिहासिक भूमिमा पुसतक विमोचन गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको’ बताए ।
मन्तव्यकै क्रममा उनले भने, ‘म सन २०१७ मा यस उपन्यास लेखनको क्रममा भाग्शु धरमशाला आएको थिएं । त्यतिबेला मास्टर मित्रसेनको बुहारी देवकन्यालाई भेटेपछि निकट भविस्यमा नै उपन्यास प्रकाशन गरेर हजुरकोसामु चढाउन आउने छु ।’
हितानले उपन्यास त प्रकाशन गरे तर यसपालि भाग्शु धरमशाला पुगेको वेला देवकन्यालाई भेट्न पाएनन् । केही वर्षअघि उनी स्वर्गेवास भैसकेकी हुनाले भेट भएन । उक्त उपन्यासको एक प्रति देवकन्याका छोरा तथा मास्टर मित्रसेनका नाति अरविन्दसेनलाई प्रदान गरेर उनले सन्तुष्टि लिए ।

आफूले ६ वर्ष लगाएर अध्ययन-अनुसन्धान र भ्रमण गरी लेखेको उपन्यास भाग्शु धर्मशालावासी गोर्खाली समाजमाझ ल्याउन पाउँदा हितान हर्षले विभोर थिए । उनले एशोसियसनका अध्यक्ष रिविन्दर राना लगायत कार्यसमितिका सदस्यप्रति कृतज्ञता प्रकट गरे ।
यस वार्षिक उत्सवमा दुइ दर्जनभन्दा बढी बाल तथा युवा कलाकारको सांस्कृतिक प्रस्तुति, ज्येष्ठ नागरिक र स्वयंमसेवकलाई सम्मान, गोर्खा एशोसियसनका संस्थापक अध्यक्ष मधोसिङ रानाको सालिक अनावरण र ऱ्याफल ड्रो जस्ता कार्यक्रमहरु पनि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा मास्टर मित्रसेन थापामगर प्रतिष्ठान काठमाडौंका पूर्व अध्यक्ष त्रिलोकसिङ थापा मगर थिए । कार्यक्रम सञ्चालन गोर्खा एशोसियसनका महासचिवले गरेका थिए ।
भाग्शु धर्मशाला इलाकामा १८ वोटा नेपाली गॅाउ छन् । प्रतेक गाउँमा एक मुखिया चुनिएका हुन्छन् । यिनै गाउँका ३०० भन्दा बढी मानिसको उपस्थिति कार्यक्रममा रहेकाे थियो ।