
- राज दयाल
ओखलढुंगा । ओखलढुंगामा कालाजार रोग अझै निवारण हुन सकेको छैन । वर्षौंदेखि ओखलढुंगाको मानेभञ्ज्याङ क्षेत्रमा कालाजार रोगको समस्या नियन्त्रणबाहिर छ । कालाजार स्यान्ड फ्लाई नामक भुसुनाको टोकाईबाट सर्ने रोग हो । यो रोगले विश्वभर नै लाखौंले ज्यान गुमाइसकेका छन् । त्यसैले पनि ओखलढुंगावासीको सुरक्षाकालागि यहाँ विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभाग आफै अग्रसर भइरहेको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ क्षेत्रमा अझै पनि कालाजार रोग नियन्त्रणमा आउन सकेको छैन । मुलुकका ७५३ स्थानीय तह मध्ये ओखलढुंगाको मानेभञ्ज्याङमा सबैभन्दा बढी कालाजारको समस्या देखिएको छ । ८ वर्ष पहिलेदेखि यहाँ यो रोगको समस्या देखिइरहेको छ । त्यसैले कालाजारको निवारणका लागि स्थानीयदेखि केन्द्र सरकारसम्म लागिपरेका छन् । तर वर्षौंदेखि विभिन्न चरणका कार्यक्रमहरु गरिए तापनि नियन्त्रणमा आउन सकेको छैन । यसकारण पछिल्लो समय भने विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभाग आफै यसको निवारणका लागि लागिपरेको छ । विभागको टोलीले मानेभञ्ज्याङ आएर विभिन्न जनचेतनामुलक कार्यक्रम सहित कालाजार संक्रमित परिवारका सदस्य तथा छिमेकी र समुदायमा समेत कालाजार परीक्षण गरेको छ ।
पछिल्लो ३ आर्थिक वर्षमा मात्रै मानेभञ्ज्याङमा ६५ जनामा कालाजार देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । ती मध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ३७ जना कालाजारबाट पिडित भएका थिए । विज्ञहरुका अनुशार स्यान्ड फ्लाई नामक भुसुनाको टोकाईबाट सर्ने यो रोग मानेभञ्ज्याङ गाउँपालिकाको समुद्री सतहबाट झन्डै ५ सय मिटर देखी २ हजार ५ सय मिटर सम्मको उचाईमा देखा परेको पाईएको छ । यो रोगका सामान्य लक्षणहरु सामान्यदेखि तीव्र ज्वोरो, वाकवाकी लाग्ने, टाउको दुख्ने, कमजोर महशुस हुने लगायतका हुन् ।
कालाजार रोग निवारणका लागि स्थानीय सरकारले अघिल्लो वर्षदेखी नै प्रभावित क्षेत्रमा विषादी छर्किने, कालाजार परिक्षण, विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरि तराई क्षेत्रमा देखिने कालाजार रोगको समस्या जलवायु परिवर्तनसंगै अग्लो स्थान अर्थात पहाडी जिल्लातर्फ देखिइरहेको छ । यसबारे ठोस अनुसन्धान भने भएका छैनन् ।