२ कार्तिक २०८०, बिहीबार
  • बालविक्रम कार्की

रौतहट । दशैंको आगमनसँगै रौतहटमा पर्ने पूर्व पश्चिम राजमार्गमा बाक्लो संख्यामा सवारीसाधनहरु आवतजावत गरिरहेको पाइन्छ । घर फर्कनेहरुको संख्या बढेसँगै चालकहरुले लगातार यात्रुहरु ओर्साने काम गरिरहेका छन् । लगातारको सवारी हकाँइबाट हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सडकमै सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ । पूर्व पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामा तथा छोटा दुरीका सवारी साधनहरुलाई चन्द्रनिगाहपुरमा केहीवेर रोकी उनीहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । स्वास्थ्यकर्मीहरुले चालकहरुको रक्तचाल, मुटुको चाल, ज्वरो परिक्षण गर्नुको साथै उनीहरुको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेर केही औषधीहरु निशुल्क पनि वितरण समेत गर्ने गरिएको छ । स्वास्थ्य परिक्षणको क्रममा चालकहरुमा उच्च तथा न्यूण रक्तचाप, रुघाखोकी, छाति तथा पेटको समस्या, अनिन्द्रा, टाउको दुःखाइ लगायतका समस्याहरु बढि देखिएको सिभिल अस्पतालले जनाएको छ ।

ट्राफिक प्रहरीलेहरुले राजमार्गमा गुडेका विशेषगरी ट्रक, जिप, सुमो र माइक्रोबसलाई रोकेर त्यसका चालकहरुलाई स्वास्थ्य परिक्षण गर्न आग्रह गर्ने गरेका छन् ।

विशेषगरी चाडपर्वको बेला चालकहरुले अन्य दिनहरुभन्दा बढि सवारी चलाउने पाइएको हुनाले सवारी दुर्घटनाको जोखिम उच्च रहेको ट्राफिक प्रहरीको भनाइ छ । यो कार्यक्रम छठसम्म सञ्चालन हुने छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा रौतहट जिल्लामा ६४२ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु, २५३ जना गम्भिर घाइते र ७८६ जना सामान्य घाइते भएका थिए । यो आर्थिक वर्षको पहिलो ३ महिनामा मात्र १५२ सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु, ६० जना गम्भीर घाइते र १६८ जना सामान्य घाइते भएका छन् । दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाही देखिएको ट्राफिक प्रहरीको ठहर छ ।

LIVE TV