२५ आश्विन २०८०, बिहीबार
  • त्रिगुणा भट्टराई बस्नेत

काठमाडौँ । मनसुन सकिएसँगै डेंगी संक्रमण झनै बढिरहेको छ । सरकारी निकायबाटै डेंगी संक्रमण नियन्त्रण हुन नसक्दा डेंगी संक्रमण बढिरहेको हो । पछिल्लो ११ दिन यता काठमाडौं उपत्यकामा मात्रै ३ सय जना डेंगी संक्रमित थपिएका छन् । असोज महिनाभरी नै डेंगी संक्रमणको जोखिम हुने भएकाले अझै संक्रमण बढ्न सक्ने अनुमान चिकित्सकहरुको छ ।

मनसुन सकिए लगत्तै डेंगी संक्रमणको जोखिम अझै बढ्ने गर्दछ । गत वर्ष महामारीको रुपमा देखिएको डेंगी संक्रमणले यो वर्ष काठमाडौं उत्यकामा महामारीको रुपमा नदेखिए पनि केहि जिल्लामा यसले महामारीको रुप लिएको थियो । हरेक वर्ष देखिने डेंगी संक्रमणबाट वर्सेनि धेरैको ज्यान जाने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार जनवरीदेखि अक्टुबर सम्म २० जनाको डेंगी संक्रमणका कारण मृत्यु भएको छ । गत माघदेखि असोजसम्म देशभर ३८ हजार भन्दा बढि संक्रमित भएका छन् । त्यस्तै, काठमाडौंमा १ सय ४३, ललितपुरमा ३७ तथा भक्तपुरमा ११० गरी १० दिनको अवधिमा मात्रै काठमाडौ उपत्यकामा २ सय ९० जना संक्रमित भेटिएका छन् । हरेक वर्ष डेंगी संक्रमणले दुःख दिने गरे पनि सम्बन्धित निकायबाट नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिएको देखिँदैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि डेंगी संक्रणका विरामी केहि दिन यता बढेको देखिन्छ । अस्पतालमा दैनिक करिब ४० जना डेंगीसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुग्ने गरेका छन् । जसमध्ये अधिकांशलाई डेंगु पुष्टि हुने गरेको छ । असोज १ गते देखि २४ गतेसम्म १ सय २१ मा डेंगी संक्रमण पुष्टि भएको छ । जसमा महिला ५८ र पुरुष ६३ रहेका छन् । चिकित्सकहरुले भने डेंगी संक्रमण बढेका कारण लामखुट्टेको टोकाइबाट बच्न सचेत गराइरहेका छन् ।

डेंगी संक्रमणबाट एक महिना अगाडिसम्म सुनसरी, झापा, धादिङ, मोरङ, कैलाली लगायत जिल्ला बढी प्रभावित भएका थिए भने पछिल्लो समय तनहुँमा संक्रमण बढी देखियो । अहिले यी जिल्लाहरुमा संक्रमित दर घट्दै गएको छ । नेपालमा पहिलोपटक सन् २००४ मा नेपालमा एक जनामा मात्रै डेंगी संक्रमण पुष्टि भएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण हुँदा ८८ जनाको मृत्यु भएको थियो ।

LIVE TV