१६ आश्विन २०८०, मंगलवार

काठमाडाैँ । साहित्य सदन नेपालले यस वर्षको साहित्यकार गोपालप्रसाद रिमाल साहित्यिक पुरस्कार प्राध्यापक एवं कवि जगत प्रसाद उपाध्याय ‘प्रेक्षित’लाई प्रदान गरेको छ ।

शनिबार बौद्ध रामहिटीस्थित साहित्य सदन नेपालको पाँचौँ साधारण सभा सम्पन्न समेत भएको छ । साधारण सभामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक डा. वासुदेव त्रिपाठीले गोपाल प्रसाद रिमाल पुरस्कार कवि उपाध्यायलाई प्रदान गरेका हुन् । प्रमाणपत्र र नगद बीस हजार रुपैयाँसहित सो पुरस्कार प्रदान गर्दै साहित्यकार त्रिपाठीले साहित्यिक क्षेत्रले समाज रुपान्तरण गर्न सक्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले साहित्य सदन नेपाललाई जनस्तरको प्रज्ञा प्रतिष्ठान निर्माण गर्न सकिने विचार व्यक्त गरे । साहित्य सदन नेपालका संस्थापक तथा अध्यक्ष अमिर थापाले साहित्य सदन नेपालको महत्व र ऐतिहासिक पक्षको विषयमा प्रकाश पार्दै साहित्यको माध्यमबाट राजनीति परिवर्तन गर्न सकिने बताए ।

पुरस्कृत व्यक्तित्व उपाध्यायले साहित्यको माध्यमबाट समाज र राष्ट्र परिवर्तन गर्न सकिने धारणा राखे । कार्यक्रममा कार्यवाहक अध्यक्ष प्राध्यापक हेमनाथ पौडेलले साहित्य सदन नेपालको स्थापना र भावी योजना प्रस्तुत गरे ।

कार्यक्रममा बाैद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले साहित्यिक क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी काठमाडौं महानगरपालिका वडां नं ६ का सदस्य नरेन्द्रकुमार थापाले साहित्य सदन नेपाललाई जनस्तरको प्रज्ञा प्रतिष्ठानको रुपमा विकास गर्न स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बिश्वास सहित प्रतिवद्धता जनाए ।

त्यसैगरी शनिबार साहित्य सदन नेपालको पाँचौँ साधारण सभाले साहित्यकार प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्यसमितिमा उपाध्यक्षमा मित्रलाल पंगेनी, सचिवमा प्रह्लाद पोखरेल, सहसचिवमा डा. कृष्ण सुवेदी (भारद्वाज) र कोषाध्यक्षमा वसन्त रिजाल चयन भएका छन् । कार्य समिति सदस्यहरुमा विमल अर्याल, सीता भट्टराई, नवराज चालिसे, मणिराज लामिछाने, डा.गीता त्रिपाठी, केशव सिलवाल, रमेश खनाल, त्रिलोचन आचार्य, माधवलाल श्रेष्ठ, पशुपति खतिवडा, सुनिता बुढाथोकी र विश्वनाथ तामाङ चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।

साहित्य सदन नेपालका नवनिर्वाचित अध्यक्ष पौडेलले साहित्य सदन नेपाललाई जनस्तरको प्रज्ञा प्रतिष्ठानको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग र सहकार्यमा अघि बढ्ने बताए ।

प्राध्यापक जगत् उपाध्यायको संयोजकत्वमा डा. छायाँदत्त न्यौपाने र कवि धिरेन्द्र प्रेमर्षि रहेको ३ सदस्य निर्वाचन समिति रहेको थियो । कार्यक्रममा साहित्यकार प्रा.डा.देवी नेपाल, आख्यानकार भागीरथी श्रेष्ठ, कवि प्रल्ह्राद पोखरेलले साहित्य सदन नेपालको विषयमा प्रकाश पारे । सहित्य सदन नेपालको स्थापना २०४३ सालमा जनस्तरको प्रज्ञा प्रतिष्ठानको रुपमा भएको थियो ।

कार्यक्रममा साहित्य सदन नेपालका सचिव मित्रलाल पंगेनी साहित्य सदनको गतिविधि र भावी योजना पेश गरे । कोषाध्यक्ष बसन्त रिजालले साहित्य सदनको आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

LIVE TV