१४ आश्विन २०८०, आईतवार

काठमाडौँ । कवि कर्ण दयाल ‘सोराडी’को मुक्तक संग्रह ‘रूपान्तरण’ लोकार्पण गएिको छ । शनिबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित एक समारोहका बिच उक्त कृतिको लोकार्पण गरिएको हो ।

हामी र हाम्रो कृति समूहको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि समालोचक तथा विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की र विशिष्ठ अतिथिहरू मदन पुरस्कार विजेता तथा वरिष्ठ नियात्राकार युवराज नयाँघरे, वरिष्ठ साहित्यकार तथा साहित्य प्रतिष्ठानका अध्यक्ष लीलाध्वज थापा, संविधान सभा सदस्य पद्मलाल विश्वकर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पन्चा कुमारी लगयातले कृतिको लोकार्पण गरे । उनीहरुले कृतिमाथि समीक्षात्मक टिप्पणी पनि गरेका थिए ।

अख्यानकार तथा समीक्षक माधव बिडारी चेतनपथले कृतिमाथि समीक्षा गरे । प्रमुख प्रा.डा. कार्कीले कृति र कृतिकारको बारेमा बोल्दै कवि दयालका मुक्तक सामाजिक धरातलमा टेकेर लेखिएका हुनाले पठनीय रहेको बताए ।

कार्यक्रममा प्रकाश घायल, विष्णु थापा, माया उपाध्याय, दिपक पनेरु, बद्री उप्रेती, पुष्कर पुकार लगायतले रूपान्तरण मुक्तक संग्रहबाट मुक्तकहरु वाचन समेत गरे । बैतडीका कवि दयालले आफ्नो लेखनयात्रा र कृतिको विशेषताबारे बर्णन गरेका थिए । उनले रूपान्तरण आफ्नो आठौँ कृति रहेको बताए । यसअघि उनका कवितासंग्रह, गजलसंग्रह र लघुकथाका संयुक्त संग्रह प्रकाशित छन् ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भुवन शिवाकोटी चोघरेले गरेका थिए । स्वागत मन्तव्य चाहिँ हामी र हाम्रो कृति समूहकी उपाध्यक्ष नम्रता उप्रेतीले र शुभकामना मन्तव्य समूहका अध्यक्ष मदन नेपालले दिएका थिए ।

LIVE TV