८ आश्विन २०८०, सोमबार
  • ईश्वर जोशी

बनेर कैदीझैँ यो देश रुँदै छ
एकता, शान्ति, विकासको ज्योति मधुरो हुँदै छ ।

रगत, पसिना बगाए साराले
के पाए लडेर ती सर्वहाराले ?
बलेन चुलोमा आगो गरिबको फेरि
उस्तै छ देशको दसा सुध्रिएन फेरि

बनेर कैदीझैँ यो देश रुँदै छ
एकता, शान्ति, विकासको ज्योति मधुरो हुँदै छ ।

न दिन फेरिए ती सर्वहाराका
आवाज थुनिए निमुखा साराका
हत्या र हिंसा, बलत्कार, तस्करी बढ्दै छ
देशमै रम्ने युवाको आशा, विश्वास घट्दै छ

बनेर कैदीझैँ यो देश रुँदै छ
एकता, शान्ति, विकासको ज्योति मधुरो हुँदै छ ।

ज्यादति बढ्दो छ सिमानाहरुमा
उत्साह घट्दो छ जनताहरुमा
देशको माटो पारई बन्दैछ कसरी
के साच्चै नयाँ नेपाल बन्छ र यसरी

बनेर कैदीझैँ यो देश रुँदै छ
एकता, शान्ति, विकासको ज्योति मधुरो हुँदै छ ।

पुर्खाको स्वाभिमान लिलामी बनाइ
अर्काको इसारामा देश नचाइ
शिक्षा र स्वास्थ्य, कृषिमा लगानी गिर्दो छ
उद्योग धन्दा, विकासको गति त लाजमर्दो छ ।

बनेर कैदीझैँ यो देश रुँदै छ
एकता, शान्ति, विकासको ज्योति मधुरो हुँदै छ ।

नेताको मतिले अस्तित्व गुम्दै छ
यो संघियताले नेपाल डुब्दैछ
देशमा युवा रहेनन् गलत नीतिले
अवश्य डुब्छ यसरी राष्ट्र राजनीतिले

बनेर कैदीझैँ यो देश रुँदै छ
एकता, शान्ति, विकासको ज्योति मधुरो हुँदै छ ।

LIVE TV