२५ भाद्र २०८०, सोमबार
  • कृष्ण कन्दङ्वा

धरान उपमहानगरका प्रमुख (मेयर) हर्क साम्पाङ सार्वजनिक कार्यक्रमकै क्रममा एक युवकले आक्रमक शैलीमा प्रश्न गरेपछि शुक्रबार स्टेजमै जंगिए । ती युवक धरानकै स्थानीय अशोक लिम्बू रहेछन् । उनले धरान– १५ मा भइरहेको लागुऔषध दुर्व्यवसनी विरुद्धको अभियान कार्यक्रम चलिरहेका बेला कार्यक्रम स्थलमै पुगेर एक्कासि मेयर साम्पाङलाई प्रश्नहरु तेर्स्याए । लागुऔषध दुर्व्यवसनी विरुद्धको कार्यक्रममा सचेत गराइरहेका हर्कलाई अशोकले उपमहानगरको कमजोरीले बाटोभरि पानी बगिरहेको छ भन्छन् । युवकले प्रश्न गर्छन्, ‘हर्क दाइ, बाटोको त्यो पानी त हेर्न सक्नु भएको छैन ?’

लिम्बूको यो प्रश्न– धरानमा महामरीको रुप लिइरहेको डेंगु र सो को प्रकोपले जनता मरिरहेको बेला तपाईँ सडकमा अभियान चलाइराख्ने ? भन्ने आशयको थियो । धरानमा डेंगुको महामारी बढ्दो अवस्थामा छ । डेंगुकै कारण धरानमा धेरैको ज्यानसमेत गइसकेको छ । त्यसका साथै ती युवकले अर्को प्रसंगमा नागरिकको समस्या र दुःखमा मेयरले कुनै सहयोग तथा उपचारका लागि चासो नदेखाएको आरोप लगाउँछन् । उनले एक वृद्ध आमा र छोरा गम्भीर रोगले ग्रसित रहेको परिवारकोमा गएर हर्कले गरेको क्रियाकलापबारे असहमति जनाए । त्यही घरमा आपत्तका बेला केही नगर्ने तर त्यही घरको पछाडि लार्भा टिपेको फोटो भने सामाजिक सञ्जालमा हाल्ने ? भन्दै उनले थप प्रश्न गर्छन् । ती परिवारको घर पनि चन्दा उठाएर आफूहरुले बनाइदिएको युवकले बताए । उनले हर्कलाई थप केही प्रश्न गर्छन् । तर साम्पाङले हाम्रो विरोध गर्न आएको ? तिमीले भन्न खोजेको के ? भन्दै युवकलाई पक्राउ गर्न नगरप्रहरीलाई निर्देशन दिन्छन् ।

हर्कको निर्देशनपछि प्रश्न गर्ने युवक अशोकलाई प्रहरीले पक्राउसमेत गरेर एकदिन हिरासतमा राखेको छ । ती युवकलाई पक्राउ गरेको विषयले सामाजिक सञ्जालमा तर्क–वितर्कहरु मच्चिए ।

पक्राउ परेको साँझ हर्कले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका थिए– बदमासलाई प्रहरीको जिम्मा लगाइयो । स्वतन्त्रताको नाममा अराजकता फैल्याउन कसैलाई छुट छैन ।

उक्त स्टाटसप्रति पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले हर्कको प्रवृत्तिप्रति प्रश्न गरेका छन् ।

टोलमा भएका समस्याको विषयलाई लिएर मेयरलाई खबरदारी गर्दा सेवाग्राहीलाइ पक्राउ गरिनु हर्कको हुकुमी शैली भएको भन्दै धेरैजसोले टिप्पणी गरे । लोकतन्त्रमा प्रश्न गर्दैमा धरपकड गरिनुले हर्कले पुरातन र एकात्मकवादको झल्को दिएको टिप्पणी भइरहेका छन् ।

हुन पनि हो, नगरको प्रमुखलाई जनताले झेल्नुपरेका समस्याहरु राख्न पाइन्छ । यति हो कि प्रश्नकर्ताको शैली फरक भयो होला । तर त्यहाँ समस्या त थियो नै । जनताले जिताएको जनप्रतिनिधिलाई समस्या राख्न पाउनु जनताको अधिकार हो ।

हर्कको यसप्रकारको शैली नयाँ भने होइन । उनी मेयर भएदेखि नै उनको यो अहंकारमय प्रवृत्ति झल्किन थालेको थियो । यसअघि पनि धरानमै एक परिवारको व्यक्तिगत जग्गामा गएर जबरजस्ती विरुवा रोपेका थिए । दैनिकजसो विरुवा रेखदेख गर्न हुल नै लिएर जाने गरेर दिग्दारी पारेको भन्दै ती परिवारले हर्कविरुद्ध उच्च अदालत विराटनगरमा उजुरी दिएका थिए । हर्क विरुद्धको मुद्दामा अदालतले सुनुवाई गर्दै व्यक्तिको जग्गामा नजान र व्यक्तिलाई धरपकड नगर्न आदेश दिएको थियो ।

त्यति मात्रै होइन उनलाई धार्मिक तथा जातिय संवेदनशीलताको ख्यालसमेत नगर्ने गरेको आरोप लाग्दै आएको छ । हर्क ‘हिजोका अभियन्ता, आजका जनप्रतिनिधि’ हुन् । अहिले उनी सार्वभौम जनताबाट उपमहानगरको कार्यकारी प्रमुखमा निर्वाचित भएका छन् । उनले यसबेला आफ्नो पदीय मर्यादा बिर्सनु हुँदैन । यो भन्दै गर्दा राजनीतिज्ञ बन्न बम पड्काएकै हुनुपर्छ ? कसैको ज्यान लिएकै हुनुपर्छ ? वा अरुको क्षति गरेकै हुनुपर्छ ? भन्ने प्रश्न उठ्नसक्छ । तर होइन, हिजोको भन्दा आजको राजनीतिक परिवेश फरक छ । आजको परिवेशमा राजनीति गर्नु पहिलाको जस्तो असहज छैन । आजको राजनीति त लोकतन्त्रको अपनत्व र सुशासनको संस्थागत हुनेगरी जनताका माझमा काम गर्नु हो । हिजोको सामन्ति शासन ढाल्नु र वर्तमान व्यवस्था स्थापित गर्नु खेलाँची होइन । आजको राजनीतिकर्मीमा कम्तिमा राजनीतिक संस्कार, राजनीतिक व्यवहार र राजनीतिक परिपक्वता हुनुपर्छ भन्ने मात्र यस लेखको अभिमत हो ।

हर्कको लागि आजको जिम्मेवारी नगरका लागि कानून निर्माण र कार्यान्वयन गर्नु हो । जनतामाथिको प्रत्यक्ष हस्तक्षेत्र होइन् । यदि कुनै कानून कार्यान्वयन गर्नु परे नगरपालिका अन्तर्गतका विभागिय निकाय छन् । सो संयन्त्रबाट चुस्तताका साथ काम–कारबाही भए विधिवत हुने थियो कि ? भन्ने हो ।

शुक्रबार प्रश्न गर्र्ने युवकलाई पनि कुनै उजुरी वा निवेदनविना प्रहरीलाई पक्राउ गर्न ठाडो निर्देशन दिनु कानून अनुकुल मान्न सकिन्न । यसरी प्रश्न सोधेकै भरमा मेयरको ठाडो निर्देशनमा नागरिकलाई धरपकड गर्ने भए हिजोका सामन्ति र आजका जनप्रतिनिधिमा के फरक भयो र ? यदि विरोध नै गरेका हुन् भने पनि चित्त नबुझे शान्तिपूर्ण विरोध वा खबरदारी गर्ने छुट जनतामा छ, पक्राउ गर्न पाइँदैन ।

विश्वभरका नेपालीहरुमा कुशल जनप्रतिनिधिको उपमा पाइरहेका हर्कले अनेक कुतर्क, खुराफाती गरेर तथा गैरजिम्मेवारी देखाएर आफ्नो साख आफै गिराइरहेका छन् । उनीभित्र देखिएको यस्तो मैमत्ताले उनकै कद घटाउने निश्चित छ । अघिल्लो शुक्रबारको त्यो प्रतिनिधि घटनाले पनि यसको पुष्टि गर्छ । घटनाको पृष्ठभूमि जेसुकै होस् तर उनले धरानको अविभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै सामन्ती राजाको जस्तो हैकम देखाउनु पक्कै पनि सोभनीय देखिँदैन । सेवाग्राही जनताले कसै दल वा संस्थाबाट प्रभावित भएर पनि विरोधका लागि मात्रै विरोध गर्नु भलो हुने छैन । जनप्रतिनिधि वा सर्वसाधरणले वर्तमान शासन पद्धतिलाई अंगिकार गरेर समृद्ध मुलुकको अठोट गर्नुको विकल्प छैन ।

LIVE TV