१८ भाद्र २०८०, सोमबार
  • राजेन्द्र तारकिणी

काठमाडौँ । भारतले हालैमात्र चन्द्रयान– ३ मिसन सफल गरेर सूर्यको अध्ययनका लागि अर्को मिसन सुरु गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित यानबाट बिक्रम ल्यान्डर सकुसल अवतरण गरेर भारत चन्द्रमामा पुग्ने चौथो राष्ट्र बन्यो भने दक्षिणी ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनेर इतिहास रच्यो । चन्द्रमाको उक्त सधैँ अँध्यारो भइरहने भागमा अवतरण गर्न रुसले समेत प्रतिस्पर्धा गरेको थियो, तर रुसको लुना– २५ यान अवतरणका क्रममा दुर्घटनाग्रस्त भयो । यसले भारतलाई मौका दियो । भारत पनि आफ्नो चन्द्रयान मिसनको तेस्रो प्रयासमा सफल भएको हो ।

चन्द्रमाको मिसन सफलतापछि हौसिएको भारतले सूर्यको अध्ययनका लागि समेत अर्को यान पठाएको छ । यहीँ सेप्टेम्बर २ तारिखमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सूर्यको अध्ययनका लागि ‘आदित्य एल १’ मिसन प्रक्षेपण गरेको हो । इसरोले सेप्टेम्बर २ मा बिहान स्थानीय समय ११ बजेर ५० मिनेटमा आन्ध्र प्रदेशको श्रीहरिकोटा अन्तरिक्ष स्टेशनबाट ‘आदित्य एल १’ मिसनमार्फत स्याटेलाइट पठाएको हो । यो भारतको पहिलो सौर्य मिसन हो ।

भारतको प्लानेटरी सोसाइटीका निर्देशक रघुनन्दन कुमारले यसबारे केही दिन अगाडि नै जानकारी गराएका थिए । उनका अनुसार सूर्यको अध्ययन गर्नका लागि पठाउन लागिएको ‘आदित्य एल १’ नामक यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दूरी तय गरेर एउटा ‘एल १’ अर्थात् ‘लाग्रान्जियन १’ बिन्दु विन्दुमा पुग्नेछ । यो दूरी पृथ्वी र चन्द्रमाको दूरीभन्दा ४ गुणा बढी हो । तर त्यो सूर्य र पृथ्वी बीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो, किनभने पृथ्वीदेखि सूर्यसम्मको दूरी करिब १५ करोड १० लाख किलोमिटर छ ।

उक्त ‘एल १’ विन्दू धरती र सूर्यको बीचतिर पर्छ र त्यहाँ ‘हलो अर्बिट’ मा उक्त यानलाई राखिनेछ । एल १ विन्दुमा पुग्न उक्त यानलाई १२५ दिन लाग्ने बताइएको छ । त्यसपछि मिसन सफल भयो भने हलो अर्बिटमा भारतको स्याटलाइटसहितका उपकरण छोडिने छ । उक्त स्याटेलाइटले कुनै पनि अवरोधबिना सूर्यलाई निरन्तर अवलोकन गर्नसक्ने ठूलो फाइदा रहेको बताएको छ । त्यही भएर सुरुमा ‘आदित्य–१’ नाम दिइएको उक्त मिसनको नाम परिवर्तन गरेर ‘आदित्य एल– १’ बनाइएको हो ।

हलो अर्बिटबाट ७ वटा यन्त्रको सहायताले सूर्यको अध्ययन गर्न थालिनेछ । ती यन्त्रले आगामी ५ वर्षसम्म सूर्यको अध्ययन गर्न सकिने बताइएको छ । सूर्यको व्यापक अध्ययन तथा अवलोकनका लागि स्याटेलाइटका साथ पठाइने अन्य ६ यन्त्र–उपकरणमा : सोलर अल्ट्राभाइलेट इमेजिंग टेलीस्कोप (एसयूआईटी), आदित्य सोलार विन्ड पार्टिकल एक्सपेरिमेन्ट (एएसपीईएक्स), प्लाज्मा एनालाइजर प्याकेज फर आदित्य (पीएपीए), सोलार लो इनर्जी एक्स–रे स्पेक्ट्रोमिटर (एसओएलईएक्सएस), हाई एनर्जी एल १ अर्बिटिङ्ग एक्स–रे स्पेक्ट्रोमिटर (एचईएलज्ञओएस) र म्याग्नेटोमिटर रहेका छन् ।

यस आदित्य एल १ सौर्य मिसनको मुख्य उद्देश्य सूर्यमा हुने आगोका लप्काहरु, त्यसबाट उत्पन्न तापमान, तातो हावा र सौर्य वायुमण्डलबारे जानकारीहरु संकलन गर्नु रहेको छ । साथै सौर्य आँधी आउने कारण तथा त्यसबाट पृथ्वीको वायुमण्डलमा पर्ने प्रभावबारे समेत अध्ययन गर्नु यस मिसनको उद्देश्य हो ।

भारतको यो सौर्य मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका बारेमा समेत जानकारी प्राप्त गर्न सकिनेछ । साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे पनि महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सकिने आशा भारतीय वैज्ञानिकहरुको गरेका छन् ।

LIVE TV