
काठमाडौँ । रुसले चन्द्रमामा पठाएको एउटा अन्तरिक्ष यान हालै मात्र दुर्घटनाग्रस्त भयो । अवतरणका क्रममा अन्तिम समयमा उक्त दुर्घटना भएपछि रुसको ५० वर्षपछिको प्रयास खेर गएको छ भने यसले भारतलाई ठूलो मौका दिएको छ ।
लूना– २५ नाम दिइउको रुसी अन्तरिक्ष यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य राखिएको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा कक्षमा पुगेपछि यान दुर्घटनाग्रस्त भयो । यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो र ५० वर्षपछि यो उसको अर्को प्रयास थियो । तर सफल भएन ।
रुसको चन्द्र मिसन असफल भएपछि यसबाट भारत हौसिएको छ । भारतले पनि रुसको भन्दा केही दिन अघि मात्रै चन्द्रमाका लागि आफ्नो चन्द्रयान पठाएको थियो । भारतले पठाएको चन्द्रयान– ३ पनि अवतरणको क्रममा रहेको छ । रुस र भारतका यी दुवै यान करिब एकै समयमा अवतरण गर्न लागेको बेला रुसको असफलता भारतका लागि मौका बनेको हो ।
भारतले पनि चन्द्रमाको त्यही भागमा आफ्नो चन्द्रयान अवतरण गर्न लागेको, जहाँ अवतरण गर्ने क्रममा रुसको यान दुर्घटना भएको छ । त्यस भागमा अहिलेसम्म कुनै देशले पनि सफलतापूर्वक यान अवतरण गर्न सकेका छैनन् ।
रुसको यान दुर्घटना भएलगत्तै हौसिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले भारतको चन्द्रयान– ३ यही अगस्ट २३ तारिखको साँझ चन्द्रमामा अवतरण गर्न तयार रहेको बताएको छ ।
रुसको लुना–२५ चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न भारतको चन्द्रयान–३ सँग प्रतिस्पर्धा गरिरहेको थियो । भारतको चन्द्रयान– ३ र रुसको लुना– २५ एक–एक ल्यान्डर र एक–एक रोभरसहित अन्तरिक्षमा गएका थिए । यी दुवैबीच को पहिला चन्द्र सतहमा उत्रने भन्ने होड चलिरहेको थियो ।
रुसले मस्को समय अनुसार यही अगस्ट ११ का दिन लुना–२५ यान चन्द्रमाका लागि प्रक्षेपण गरेको थियो ।
भारतले त्यसभन्दा अगाडि नै १४ जुलाईमा चन्द्रयान–३ चन्द्रमामा पठाएको थियो । यी दुवै मिसनले करिब एकै समयमा आ–आफ्नो ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्न लागेका थिए । तर अब रुस हारिसकेको छ भने भारतको परीक्षा घडी आएको छ । अहिले विश्व विज्ञानको नजर भारतीय चन्द्रयानमा टाँसिएको छ । इसरोले जनाए अनुसार चन्द्रयान–३ अगस्ट २३ तारिख बुधबारको साँझ भारतीय समय ६: ०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्नेछ ।
यसअघि भारतले सन् २०१९ को सेप्टेम्बरमा पनि चन्द्रयान– २ चन्द्रमामा पठाएको थियो । तर त्यतिबेला चन्द्रमाकै दक्षिणी ध्रुवमा अवतरण गराउने प्रयास गर्दा उक्त यानको ‘विक्रम ल्याण्डर’ क्षतिग्रस्त भएर दुर्घटना हुनपुग्यो । त्यसपछि भारतले चन्द्रयान– ३ मिसन अघि सारेको हो ।
इतिहासमा रुसले पहिलोपटक चन्द्रमामा आफ्नो यान पठाएको थियो तर चन्द्र सतहमा पाइला टेक्न सफल अमेरिका भयो । अहिले चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित यान पठाउने होड चलिरहेको छ । यसमा भारतको सफल भयो भने उसले इतिहास रच्नेछ ।
अब भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बन्न सक्छ कि सक्दैन, यो अबको २ दिनभित्रमा तय हुने छ । यदि चन्द्रयान–३ ले दक्षिण ध्रुवमा जमेको माटोमा पानीको ट्रेस पत्ता लगायो भने यो भविष्यका प्रयोगहरूको लागि थप उपयोगी हुनेछ । चन्द्रमामा पानी भेटिएमा त्यसबाट अक्सिजन बनाउने विकल्प पनि हुनेछ, अर्थात् मानव जीवनका सम्भावनाहरू खोज्न सकिने छ ।