३१ भाद्र २०८०, आईतवार
  • अनमोल कार्की

रौहतट । ट्रक चालकमाथि प्रहरी चौकीमै कुटपिट गर्नेहरुलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेस प्रदेश कमिटीको नेतृत्वमा ट्रक चालक कमिटी पथलैया, रौतहट जिल्ला कमिटीले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रालाई ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेको हो ।

यहीँ भाद्र २९ गते जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु स्थानियले ट्रक चालक बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का मुकुन्द पोखरेललाई प्रहरी कार्यालय परिसर भित्रै पसी भित्रै देखि कुट्दै पिट्दै बाहिर निकालेर भाटा ,बाँसको लठ्ठी, रड, चिर्पट समेतले मर्महात हुने गरि कुटेपछि अब लास भयो, मर्यो भनि छोडेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा घटनामा संलग्न भई उत्तेजित कार्य गर्ने गराउने हरुलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने , कुटपिटबाट घाईते ट्रक चालक पोखरेलको उचित उपचारको व्यवस्था गर्नुपर्ने , इलाका प्रहरी कार्यालय भित्रबाट कुटपिट गरिएको यस घटना बारे स्थानिय तथा त्यस प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु समेतबाट सर्जमिन बुझि आवश्यक कारवाही गर्नुपर्ने, दुर्घटनामा मृत्यु भएका यादवले कानुन वमोजिम पाउनुपर्ने सम्पूर्ण क्षतिपूर्ती यथा समयमा दिलाउनु पर्ने माग गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेस प्रदेश कमिटीका उपाध्यक्ष राम कुमार कटवालले बताए ।

कटवालका अनुसार आक्रमणबाट गम्भिर घाइते भएका चालकको न्यूरो अस्पताल बिरगञ्जमा उपचार भइरहेको छ । आफुहरुको माग ३ दिन भित्र सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिदैैं राज्यले पेशागत हकहितको सुरक्षाको ग्यारेन्टि गर्नुपर्ने माग गरे ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मिश्रले घटनाको छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेको ट्रक चालक कमिटी पथलैयाका अध्यक्ष नवराज कार्कीले बताए । उनले चालकहरुले असुरक्षित वातावरणमा काम गर्न नसक्ने भन्दै चालकमाथि भएको आक्रमणका दोषीहरुलाई तत्काल कारवाहीको दायरामा ल्याएर कानुनी राज्यको अनुभूति राज्यले गराउनु पर्ने बताए ।

के भएको थियो घटना ?

यहीँ भदौ २९ गते रौतहटको फतुवा सन्तपुर दोस्तिया बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ प ४९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ का अन्दाजी ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको थियो भने मोटरसाइकल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । घटना पछि आक्रोशित स्थानियले ट्रक चालक बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का मुकुन्द पोखरेल माथि स्थानीयवासीले घटनास्थलमै हातपात गरेपछि प्रहरीले उद्धार गरेर इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियामा लगेको थियो ।

पछि ठूलो संख्यामा आक्रोशित स्थानीयले प्रहरी कार्यालयबाटै चालकलाई निकालेर कार्यालय परिसरभित्रै निर्घात कुटपिट गरेका थिए । उनीहरुले प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर तोडफोड पनि गरेका थिए । भिडलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको र सो क्रममा केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले बताए ।

प्रहरीले नै चालकको उद्धार पश्चात उपचारको लागि वीरगञ्ज पठाएको र दुर्घटना तथा आक्रमणको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

LIVE TV