
- राजेन्द्र पन्त
काठमाडौँ । क्रिकेटमा नेपालको सम्भावना जति राम्रो छ, यहाँ सरकारको उदासिनता उति नै दिक्कलाग्दो छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर नेपाली क्रिकेट टोलीका सदस्यहरुले बेलाबेला उपाधि र कीर्तिमानहरु हासिल गर्दै आएका छन् । ठूला महत्वका प्रतियोगिता जित्दा सरकारले प्रोत्साहनस्वरुप क्रिकेट खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा गर्ने गरेको छ । तर पछिल्लो समय ती घोषणा नगद होइन ‘उधारो’मै सीमित छन् ।
राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई दिने भनेर सरकारले विभिन्न समयमा घोषणा गरेको पुरस्कार रकम बढ्दै गएर जनही १७ लाख रुपैयाँ पुगेको बताइएको छ । यो सबै खेलाडी, प्रशिक्षकको जम्मा हिसाब गर्ने भने करोडौँ पुगिसकेको छ । तर सरकारले घोषणा गरेको रकम बेलैमा दिन नसक्दा पछिल्लो ७ महिनादेखि खेलाडीहरुले नगद पुरस्कार पाउन सकेका छैनन् ।
गत २०७९ सालको चैत पहिलो साता विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेपछि नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सरकारले जनही रु ३ लाख नगद पुरस्कार दिने घोषण ग¥यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टोलीलाई बधाई दिँदै जनही रू ३ लाख पुरस्कार दिने बताएका थिए । त्यसअघि २०७९ सालकै फागुनमा पनि प्रधानमन्त्री प्रचण्डले आईसीसी विश्वकप लिग–२ अन्तर्गत भएको त्रिदेशीय श्रृंखलाका विजेता खेलाडीलाई जनही रु २ लाख नगद पुरस्कार दिने घोषणा गरेका थिए । त्यसबेला स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय श्रृंखलामा नेपालले घरेलु मैदानमै ‘क्लीन स्वीप’ पार्दै जीत हात पारेको थियो ।
त्यसैगरी, गएको वैशाख महिनामा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बन्यो । विजेता नेपाली टोलीका खेलाडीलाई सरकारले जनही रु ६ लाख नगद पुरस्कार दिने घोषणा ग¥यो । त्यसबेला प्रधानमन्त्री प्रचण्ड नेतृत्वकै क्याबिनेट बैठकले टोलीका प्रत्येक खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो । कार्यविधिमा भएको भन्दा थप जनही १ लाख रुपैयाँ बढाएर सरकारले प्रोत्साहनस्परुप उक्त पुरस्कार दिने बताएको थियो ।
राष्ट्रिय टोलीका खेलाडी मात्र हैन, उमेरसमूहमा खेल्ने क्रिकेट खेलाडीले पनि सरकारबाट पाउनुपर्ने पुरस्कार पाएका छैनन् । गत फागुनमै सम्पन्न भएको सन् २०२४ मा हुने यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली यू–१९ क्रिकेट टोली क्लालिफायरबाट छनोट भएर फर्केको थियो । त्यस टोलीका प्रत्येक सदस्यले समेत सरकारबाट जनही ३ लाख नगद पुरस्कार पाउनेपर्ने हो, तर खेलाडीले अहिलेसम्म उक्त पुरस्कार नपाएको बताउँछन् । त्यसैगरी यू–१६ टोलीले पनि इस्ट जोन कप जितेर फर्किँदा सरकारले जनही ५० हजार नगद पुरस्कार घोषणा गरेको थियो । तर उनीहरुले पनि सो पुरस्कार पाउन सकेका छैनन् ।
यी त भए पछिल्ला केही उदाहरण । यसरी खेलाडीलाई हौसला दिँदै प्रधानमन्त्री स्वयंले नै गौरवका साथ पुरस्कार दिने घोषणा गरे पनि उक्त पुरस्कार रकम हालसम्म खेलाडीको हातमा पर्न सकेको छैन । यसमा दोषी को छ ? फागुनयता ७ महिनामा घोषित पुरस्कार नै लाखौँ पुगिसकेको छ, तर खेलाडीलाई प्रदान गर्ने तत्परता अझै पनि सरकारले देखाएको छैन । यसमा सरकारी पक्ष नै उदासिन भएर घोषित पुरस्कार दिन ढिलाइ हुँदै जाँदा यसले खेलाडीलाई हौसला हैन दिक्दारी बढाउन मद्दत गर्ने जानकारहरु बताउँछन् । खेलाडीहरु स्वयं निराश भइसकेको बताउँछन् ।
सरकारले खेलकुदको क्षेत्रमा दिइने विभिन्न पुरस्कारहरुको मापदण्डका लागि खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि नै बनाएको छ । कार्यविधिमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता र राष्ट्रिय स्तरमा विभिन्न निकाय तथा संघ–संस्थाले आयोजना गर्ने खेलकुदका लागि खेलाडी, प्रशिक्षक र खेल संघले समेतले सरकारबाट नगद पुरस्कार पाउने व्यवस्था छ । यसरी कार्यविधिमै स्पष्ट व्यवस्था हुँदाहुँदै पनि सरकार आफैँले घोषणा गरेको पुरस्कार दिन हच्किनुमा बजेट अभाव मुख्य कारण रहेको बताइएको छ । मुलुकको समग्र अर्थतन्त्र मन्दीमा रहेको बेला सरकारलाई समेत विभिन्न खर्च चलाउन रकम अभाव हुने गरेको समाचार नौलो रहेन । यसैको मारमा क्रिकेट खेलाडीसमेत परेको बताइन्छ । सरकारले आवश्यक बजेट व्यवस्था गरेर खेलाडीहरुले पाउनुपर्ने पुरस्कार रकम बेलैमा उपलब्ध गराइदिए आगामी खेलका लागि उनीहरुमा हौसला र पुनर्ताजगी बढ्ने थियो, यसतर्फ सरोकारवाला पक्षको ध्यान जान जरुरी छ ।