
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण औपचारिकतामा सीमित हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको चीन भ्रमणका क्रममा सहमति, समझदारी र केही हस्ताक्षरपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको विषयमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा कुनै प्रस्ताव पेस नगरे पनि अन्य समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने विषयमा निर्णय भएको छ ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा असोजको पहिलो साता दाहाल अमेरिकाबाट चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल हाङ्जाओ, बेइजिङ र चोङ्किङको भ्रमण गरी तिब्बत हुँदै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
बीआरआईको कार्यान्वयन योजनामा हस्ताक्षरको विषयलाई गौण बनाएर दाहालले बीआरआई आयोजनालाई अनुदानका रूपमा चीनसँग लिने विषयमा पहल गर्ने बताइएको छ ।
बीआरआईअन्तर्गत बन्ने आयोजना ऋणका रूपमा नलिने बरू अनुदानमा दिए स्वीकार गर्ने विषयमा चीनसँग प्रधानमन्त्रीले पहल गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार हाल सीमापार ऊर्जा सहयोगलगायतको महवपूर्ण योजनाको विषयमा चीनसँग छलफल गर्ने कार्यसूची छैन ।
बरू चीनले नेपालमा बनाएको परियोजनाको विषयमा ऋण मिनाहका लागि चीनसँग आग्रह गर्ने विषयमा मन्त्रिपरिषद्मा कुरा उठेको छ ।
साथै, चीनबाट ल्याइएका विमानको ऋण मिनाहको विषयमा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग छलफल गर्नेछन् । चीनबाट खरिद गरिएका पाँचवटा विमान नेपालमा ग्राउन्डेड छन् ।
कुनै पनि आम्दानी गर्न असफल भएपछि ग्राउन्ड गरिएका चिनियाँ विमानलाई के गर्ने भन्नेमा सरकार अन्योलमा छ ।
यो खबर आजको राजधानी दैनिकमा छ ।