
नोएडा (उत्तर प्रदेश) । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् ।
ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवं उचित उपचार सुनिश्चित गरिएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
भवनभित्र लिफ्ट जडान भइरहेका बेला त्यो एक्कासी चुडिँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा अधिकारीहरूले बताएका छन् । यसअघि महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको थियो
निर्माणस्थलमा सुरक्षाका उपाय नअपनाउँदा तथा कामदार एवं ठेकेदारले लापवाही गर्दा देशमा दैनिकजसो यस्ता दुर्घटना हुने गरेका छन् । बितेका आठ महिनामा मुम्बई महानगरमा मात्र यस्तै प्रकृतिका २४ वटा दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो वर्ष सोही अवधिमा भएका १४ वटा दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।