
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौँ । पछिल्लो समय धेरैको घुँडा, ढाड, जोर्नी दुख्ने तथा हड्डी खिइने समस्या भएको सुनिने गरिन्छ । यस्ता समस्यामा धेरैले रोग निर्मुल पर्नेभन्दा पनि दुखाई कम गर्ने औषधीको प्रयोग गर्ने गरेका छन् । तर, यस्ता समस्याका लागि आयुर्वेदको पंञ्चकर्म अन्तर्गको जानुवस्ति निकै प्रभावकारी हुने यसका जानकारहरू बताउँछन् । आयुर्वेद अन्तर्गको जानुवस्ति के हो ? यसका फाइदा के–के छन् ?
घुँडा, ढाड, ठूला, साना जोर्नीको दुखाइ तथा हड्डी खिइने समस्यालाई आयुर्वेदमा जानुसन्धिवात भनिन्छ भने आधुनिक भाषामा यसलाई ओस्टियो आर्थ्राइटिस अफ नी भन्ने गरिन्छ । बदलिदो जिवन शैलीका कारण घुँडा, ढाड, ठूला, साना जोर्नीको दुखाइ, तथा हड्डी खिइने समस्या बढ्दो छ । विशेष गरी गलत जीवनशैली, लामो समयसम्म अफिसमा बसेर लगातार काम गर्ने व्यतिmमा यो समस्या बढी हुने गरेको पाइन्छ । यस्ता समस्या महिला र पुरुष दुबैमा देखिएपनि तुलनात्मक रुपमा पुरुषमा धेरै र कम उमेरमा देखिने गर्दछ । यस्ता समस्या देखिएपछि धेरैले दुखाई कम गर्ने औषधी खाने गरेको पाइन्छ । तर, आयुर्वेद अन्र्तगतको पञ्चकर्म जानुवस्ति यस्ता समस्याका लागि निकै प्रभावकारी र रोग निदानमा सहयोगी हुने गर्दछ ।
आयुर्वेदको पंचकर्ममा गरिने एक उपचारमध्ये जानुबस्ति एक हो । जानुवस्तिले जोर्नी भित्रको दुखाई र विशेष गरि संधिवाथका लागि प्रभावकारी हुने मानिन्छ । जानुवस्तिमा मासको पिठोलाई मुछेर कुनै पनि दुखाई भएको स्थानमा वरिपरि पुलिङ गर्नुपर्दछ । यो प्रक्रिया चिकित्सक वा विज्ञता हासिल गरेको व्यतिmको निगरानीमा पिठोको रिंङ बनाएर त्यसभित्र सहन सकिने गरी तताएको औषधीयुक्त तेल दुखाई भएको ठाउँमा भरिन्छ । यो प्रक्रिया एक पटक गर्दा ३५ देखि ४० मिनेट राख्ने गरिन्छ । साथै आवश्यकता अनुसार ५ देखि ७ पटक वा सोभन्दा बढी रोगको प्रकृती अनुसार गर्नुपर्ने हुन्छ ।
जनुवस्ती थेरापीमा शरीरको दुखाई तथा रोगको प्रकृतिअनुसारको औषधीयुक्त तेल प्रयोग गर्ने भएकाले गठिया, घुँडाको चोट, घुँडाको हड्डी दुख्ने र सुन्निने, घाँटी दुख्ने, हड्डी खिएको जस्ता समयस्याका लागि यो थेरापी प्रभावकारी मानिन्छ । तर, जानुवस्ति गरेपछि भने केहि विशेष कुराहरुमा भने ध्यान दिनुपर्ने हुन्छ । तत्काल नुहान नहुने, एसी वा चिसोमा बस्न नहुने साथै ध्रुमपान पनि गर्नहुँदैन । उपचार तथा सल्लाह लिँदा दर्तावाला आयुर्वेद चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।