
काठमाडौँ । विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । व्यवस्थापन पढेका विद्यार्थी एवं जनशक्ति उच्च रहे पनि उनीहरुले रोजगारी पाउन नसकेको बताइएको छ ।
व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढे पनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्न नसकेको विज्ञहरुले बताएका छन् । विद्यार्थीलाई रोजगारीसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्नेमा विज्ञहरुको जोड छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लिराज शर्माले उत्पादित जनशक्तिले सजिलैसँग रोजगारी पाउन नसकेको बताए । शर्माले विद्यार्थीलाई रोजगारीसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्ने बताए ।
विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरे पनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको उनको भनाइ छ । उनले नेपालमा सञ्चालित उद्योगहरुमा समेत दक्ष र सीपयुक्त जनशक्तिले रोजगार पाउन नसक्नु बिडम्बनाको विषय भएको उनले बताए । शिक्षा व्यक्तिको व्यवसायिक मात्रै नभई व्यक्तिगत जीवनशैली र जीवनपद्धतिसँग पनि जोडिएकाले विद्यार्थीको आकर्षण व्यवस्थापन संकायमा बढेको उनको भनाइ छ ।
विश्वविद्यालयले इन्टर्नसिप वा व्यवहारिक रुपबाट शिक्षालाई जोड्नुपर्ने भए पनि अझै त्यसो हुन नसकेको उनले बताए । उनका अनुसार विद्यार्थीको चाप धेरै भए पनि औद्योगीकरण (इन्डस्ट्रीलाईजेसन) र औद्योगिक प्रतिष्ठानहरुमा विद्यार्थीले पर्याप्त अवसर पाउन सकेका छैनन् । व्यवस्थापन संकायमा अध्यापनरत शिक्षकहरुको उचित सेवा सुविधाका सन्दर्भमा सरकार गम्भीर नभएको उनको भनाइ छ ।
शर्माले त्रिविले आंगिक क्याम्पसहरुमा पठनपाठन गर्ने शिक्षकहरुलाई तलव–भत्ताको सुविधा दिने गरे पनि बिबिए, बिबिएम, बिआईएम, बिएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन नभएको बताए । व्यवस्थापन विषय रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोडिएको बताउँर्द उनले त्रिविअन्तर्गत हाल २ लाख बढी विद्यार्थीहरु व्यवस्थापन संकायमा अध्ययनरत रहेको जानकारी पनि दिए ।