
- तीर्थराज भट्ट
जस्ले सन्तानको निम्ति आफ्नो जीवन बाँच्दछ
जस्ले सन्तानको निम्ति स्वप्न-संसार साँच्दछ
जस्को विशाल छाती हो स्नेहको नील अम्बर
अद्वितीय त्यही व्यक्ति हो पिता-परमेश्वर ।
अङ्गुली जसको बन्छ भवमा मार्गदर्शक
अञ्जुली जसको बन्छ प्यासमा जल सागर
जस्को उचाइले छाया दिन्छ छेकी प्रभाकर
अद्वितीय त्यही व्यक्ति हो पिता-परमेश्वर ।
बिछ्याइ दिन्छ हत्केला राखून् सन्तान पाइला
र सुनाउँछ धर्तीका कथा-काव्य रमाइला
अनुसाशनको एक बनेको बिम्ब सुन्दर
अद्वितीय त्यही व्यक्ति हो पिता-परमेश्वर ।
जो गर्छ प्रेमको वर्षा सन्तान पुष्पवाटिका
माथि रंगहरू भर्दै दिन्छ व्यक्तित्व बाछिटा
पहिलो गुरु नै मान्छु, लिन्छु ज्ञान निरन्तर
अद्वितीय त्यही व्यक्ति हो पिता-परमेश्वर ।
जो थाक्दैन थियो कस्तै दु:ख-कष्ट विषादमा
जस्को निधार चम्किन्थ्यो आव्यासँग प्रभातमा
जसले पुज्दथे माटो, मान्थे- हो कर्म मन्दिर
अद्वितीय त्यही व्यक्ति हो पिता-परमेश्वर ।
जसले सिर्जना गर्छ संसार परिवारमा
मर्यादा अनि संस्कार व्यक्तिको व्यवहारमा
यौटा निस्वार्थ त्यो मान्छे जो ब्रम्हतुल्य लाग्दछ
अद्वितीय त्यही व्यक्ति हो पिता-परमेश्वर ।
***