२७ भाद्र २०८०, बुधबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतीको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चलाउन आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले विदेशमा गएपछि सबै समस्या हल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले प्रचार गरेको बताए । उनले आफू पनि विदेशमा बसेर आएको हुनाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उल्लेख गरे ।

अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिहरुको आवश्यकता रहेको भएपनि विदेश जाने पद्धतीले समस्या निम्त्याएको दाबी गरे । उनले सरकाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताए ।

उनले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिषी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने बताए । उनले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको उल्लेख गरे ।

उनले देशको आर्थिक स्रोत कम रहेको तर आवश्यकताहरु धेरै रहेको उल्लेख गर्दै सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्नसक्ने जिकिर गरे । उनले भने, ‘विदेशमा पठाउने कन्सलट्यान्सीहरुले विदेशमा गए सबै कुरा समाधान हुनेगरी विज्ञापन गरी रहेका छन् । तर विदेशमा जानेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने छैन । विदेशमा जानेहरु ठूलो समस्यामा हुनुहुन्छ । स्वदेश फर्कन वा बस्नु भन्ने समस्याहरु छन् । नेपालमा नै धेरै ठूलो श्रम शक्तिको माग रहेको छ । न्ेपालको शिक्षक बन्न चाहेकका छैनौं । विदेशमा शिक्षक बन्ने कुरा फरक कुरा हो । १२ कक्षा पास गर्ने वितिकै विदेशमा जाने ट्रेनलाई रोक्न अभियान थाल्नुपर्छ । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने पक्षमा सरकार पनि रहेको छ ।’

उनले सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि प्राथमिकताका आधारमा लगानी गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक लगानी मुलुकको हीतको लागि भए÷नभएको हेरेर मात्रै लिने नीति लिन आवश्यक रहेको बताए ।

 

LIVE TV