
- युवराज आचार्य
इलाम। संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि उनको जन्मथलो इलाम शोकमा डुबेको छ। उनको निधनपछि शोकमा डुबेका पार्टीका नेताकार्यकर्ता तथा स्थानीय बासिन्दाहरु यतिबेला उनको घरमा भेला भएका छन्, भने पार्टी कार्यालयमा नेम्वाङको फोटो राखेर श्रद्धाञ्जली दिने कार्य भइरहेको छ।
पार्टी कार्यालयमा रहेको पार्टीको झण्डा झुकाएर राखिएको छ भने नेम्वाङका समकालीन साथी, स्थानीय बासिन्दा तथा पार्टीको नेताकार्यकर्ता भावविह्वल बनेका छन्। मुलुकको संविधान निर्माणका लागि महत्त्वपूर्ण भुमिका खेलेका नेम्वाङले जिल्लाको विकासमा उल्लेखनीय भुमिका खेलेको र अब इलाम टुहुरो बनेको स्थानीय बासिन्दा बताउँछन्।
सुवास नेम्वाङ इलामको मात्रै नभएर सिंगो देशको खम्बा रहेको र त्यो खम्बा भाँचिएको नेम्वाङका समकालीन साथी तथा छिमेकी समेत रहेका संकर देवानले बताए । दुई दुई पटक संविधानसभाको अध्यक्षताको दुर्लभ अवसर सम्हालेका नेम्वाङसँगको आफ्नो बाल्यकाल सम्झना गर्दै देवान भावविह्वल बन्दै अब यत्तिको नेता नजन्मने बताउँछन् ।
स्थानीयहरुका अनुसार नेम्वाङ बेलाबेला इलाम पुग्ने गरेको र घरमा गएर बस्ने गरेका थिए । अन्तिम पटक नेम्वाङ निर्वाचनको बेला घरमा पुगेका थिए। त्यशपश्चात उनी पुर्व धेरै पटक आएपनी घरमा पुगेका थिएनन्।
स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका र यहीँबाट उनको राजनीति शुरु भएको थियो ।
नेम्वाङ विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (मालें)मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष, सभामुख थिए ।
उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।