२६ भाद्र २०८०, मंगलवार

काठमाडौँ । सरकारले संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

सोमबार राति हृदयघातका कारण निधन भएका नेम्वाङको अन्त्येष्टि उनका छोराहरू विदेशबाट आइसकेपछि मात्रै गरिने जनाइएको छ । सम्भवतः बुधबार या नभए जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सरकारले सार्वजनिक बिदा समेत दिने निर्णय गरेको छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो । संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो ।

 

LIVE TV