
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति भावुक र मर्माहत भएका छन् । उनले नेम्वाङको मृत्युमा दुःख व्यक्त गर्दै उनी आफ्ना लागि केवल पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख–दुःखको साथी रहेको बताएका छन् ।
नेम्वाङको निधनमा श्रद्धाञ्जली वक्तव्य दिँदै आज बिहानै ओलीले नेम्वाङ सधैँ मृदुभाषी र शालीन साथी रहेको बताए । उनले लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ देशले सम्झिरहने समेत बताए । ओलीका एकदम विश्वासपात्र मानिने नेम्वाङलाई ओलीले पछिल्लो समय महत्वपूर्ण जिम्मेवारी समेत दिएका थिए । उनलाई संसदीय दलको उपनेताको जिम्मेवारी दिएका थिए भने ओलीपछिको वरियतामा नेम्वाङ नै थिए । गत राष्ट्रपति निर्वाचनमा पनि ओलीले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारे, तर नेम्वाङ सत्ता गठबन्धनसँग पराजित भए ।
नेम्वाङलाई पराजित गर्दै सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेलले आज नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना दर्शाएका छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बिहानै शिक्षण अस्पतालमा पुगेर स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गरे ।
नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।