
- अस्मिता तिवारी
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसर भित्र रहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय देशकै पुरानो र ठूलो पुस्तकालय हो । जहाँ हरेक दिन अध्ययनका लागि आउने विद्यार्थीको घुइँचो लाग्ने गर्छ । त्रिवि केन्द्रीय पुस्तकालयका साम्रगी अनलाइन मार्फत पनि हेर्ने र पढ्न सकिने भएकाले पुस्तक प्रयोगकर्ता दिन प्रतिदिन बढ्दो क्रममा छन् । तर पुस्तकालयको स्तरउन्नति हुन नसक्दा विद्यार्थीले सोंचे अनुसारको सेवा लिन भने सकेका छैनन् ।
२०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय नेपालकै ठूलो पुस्तकालय हो । सुरुवाती चरणमा दुई कोठामा १२ सय पाठ्यसाम्रागीबाट सुरु भएको उक्त पुस्तकालयमा हाल चार लाख भन्दा धेरै पाठ्य साम्रागी छन् । विश्वविद्यालयको परिसर भित्र रहेकाले उक्त केन्द्रीय पुस्तकालयको प्रयोग गर्ने विद्यार्थीको संख्या पनि निकै छ । विश्वविद्यालयमा भर्ना भएका र नभएका सबै विद्यार्थी केन्द्रीय पुस्तकालयमा बसेर अध्ययन गर्न पाउने व्यवस्था छ । विद्यार्थीको शिक्षण सिकाइमा निकै नै महत्वपूर्ण भुमिका निर्वाह गरेको यो पुस्तकालयको अवस्था भने दयनीय छ । केन्द्रीय पुस्तकालयमा बसेर अध्ययन गर्ने विद्यार्थीको चाप निकै छ तर विद्यार्थीले बसेर पढ्ने ठाउँ पाउँदैनन् । पछिल्लो समय त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा अध्ययन गर्न विद्यार्थीले शुल्क तिर्नूपर्ने नियम लागु गरेको छ । त्रिवि केन्द्रीय पुस्तकालय लाखौं विद्यार्थीसंग प्रत्यक्ष जोडिने भएकाले यसलाई थप व्यवस्थित गर्नूपर्ने विद्यार्थीहरुको भनाइ छ ।
२०७२ सालको महाभूकम्पले पुस्तकालय भवनमा पनि क्षति पु¥यायो । भूकम्पले क्षति पु¥याएका कयौं संरचनाको पुनः निर्माणको कार्य सम्पन्न भएता पनि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको पुनःनिर्माणको काम पूरा हुन सकेको छैन । पुस्तकालयले प्रयोगकर्ताको संख्या धेरै भएकाले पुस्तकालयको सुधार र सेवा विस्तार गर्न अतिआवश्यक भएको पुस्तकालय अभियन्ताको बुझाइ छ ।
पुस्तकालयका लागि निर्माणाधीन भवनको काम सुस्त गतिमा हुँदा पुस्तकालयको व्यवस्थापनका लागि थप चुनौति पैदा भएको पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदी बताउँछन् । केन्द्रीय पुस्कालयमा आउने विद्यार्थीलाई मध्यनजर गर्दै पुस्तकालयको व्यवस्थापन गरिने सुवेदीको भनाइ छ ।
यो पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थीले अध्ययन गर्दै आएको रेकर्ड छ । यो पुस्तकालयले संरचनागत समस्या मात्र नभइ अहिले जनशक्ति अभावको समस्या समेत भोगिरहेको छ । देशकै ठूलो र पुरानो यो पुस्तकालयको उचित ब्यवस्थापन र संरक्षणका लागि विशेष ध्यान दिन जरुरी छ ।