
- श्यामहरि चौलागाईं
नेपाली राजनीतिका शिखर व्यक्तित्व, नेपाली राजनीतिमा समाजवादका प्रवर्तक एवं दक्षिण एसियाली राजनीतिका बहुुआयामिक राजनीतिक व्यक्तित्व वीपी कोइरालाका कालजयी विचारहरु आजपर्यन्त समय सान्दर्भिक छन् । दुरदराजका सीमान्तकृत समुदायका मानवीय जीवन र जगतका आधारभूत आवश्यक्ताहरुलाई मनोवैज्ञानिक ढङ्गबाट कुशलतापुर्वक आफ्नो राजनैतिक विचार र सिद्धान्तका माध्यमबाट उजागर गर्न सक्ने विलक्षण प्रतिभाका धनी थिए । यसै अनुरुप आफू प्रधानमन्त्री भइसकेपछि योजना बनाउन बसेको राष्ट्रिय योजना आयोगको बैठकमा योजना बनाउनुभन्दा अगाडि हलो जोतिरहेका किसानको तस्बिर हेरेर योजना बनाउन निर्देशन दिएका थिए ।
वीपीले भनेका थिए– म कुनै आर्थिक विशेषज्ञ त होइन तर जुन विकासले ग्रामीण जनतालाई पछि पारिदिन्छ त्यो विकास होइन । नेपाल गाउँनै गाउँले भरिएको एउटा सानो देश हो । यसकारण जबसम्म गाउँको विकास हुदैन तबसम्म देशको विकाश हुदैन, गाउँको विकासनै वास्तविक विकास हो भन्ने उनको बुझाइ थियो । यसकारण वीपीले ग्रामीण विकाशको लक्ष्य अघि सारेका थिए। आजभन्दा ६५ वर्ष अगाडि प्रतिपादन गरेका लोकतान्त्रिक समाजवादि अर्थनीति आज पनि उतिकै सान्दर्भिक छ । यसबाट नै वीपीको दुरदर्शिता प्रष्ट हुन्छ । असमानतालाई अन्त्य गरि वितरण र अवसरलाई प्राथमिकता दिने वीपीको विचारमा कोही पनि अवसरबाट वञ्चित नहोस् भन्ने थियो । आफ्नो राजनैतिक आधार दरबार नभई जनतालाई ठान्ने र सत्तालाई नभई विकासलाई केन्द्रमा राख्ने वीपी कोइरालाका विचारमा जबसम्म श्रमजीवी वर्ग शासनसत्तामा पुग्दैनन् तबसम्म कुनै न कुनै रुपमा मजदुरहरु शोषित पीडित भइरहन्छन् भन्ने थियो । यसै विचारको प्रभावस्वरुप विरानगर जुट मेलमा नेपालको माटोमा प्रथम ऐतिहासिक मजदुर आन्दोलनको सुरुवात भएको थियो ।
नेपाली कांग्रेस पार्टीका विचारक तथा कुशल सङ्गठक वीपीकोइराला समाजवादका प्रवद्धक तथा समाजवादी चिन्तनका पथप्रदर्शक हुन् । निष्ठा र मुल्यको राजनीतिलाई आदर्श मान्ने नेता वीपी कोइरालाले जीवनपर्यन्त प्रजातन्त्र स्थापना र रक्षाको निम्ति जहानीया राणा शासन तथा पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गरिरहे । प्रवासमा बसेर आन्दोलन गर्दा राष्ट्रियता कमजोर हुने ठानी मेलमिलापको नीति लिएर नेपाल फर्कनुु नेपालको राजनीतिमा निकै सान्दर्भिक देखिन्छ ।
दक्षिण एसियामा देखिएको तत्कालिन राजनैतिक सङ्क्रमणबाट देशलाई बचाउन तथा नेपाललमा देशी विदेशी तत्वहरुले कुचक्र फैलाउँन सक्ने र अन्तराष्ट्रिय षडयन्त्रको अखडा बनाउन सक्ने खतरा बढ्दै गएको अवस्थामा वीपीले अवलम्वन गरेको मेलमिलापको नीतिबाट उनी कति राष्ट्रवादी थिए भन्ने कुरा प्रस्ट हुन्छ ।
भारतमा सिक्किमको विलय, शोभियत संघबाट अफगानिस्तान माथि सैन्य आक्रमण, इरानमा चर्किदै गएको आन्दोलन, अमेरिका र शोभियत संघ बिचको चरम शितयुद्द, भियतनामबाट अमेरिकी सेना फर्किन विवश हुनु, भारत शोभियत संघको ध्रुवमा उभिनु , इन्दिरा गान्धिको सरकारबाट भारतमा संकटकाल घोषणा हुनु तथा प्रजातन्त्रवादी नेताहरु जयप्रकाश नारायण तथा चन्द्रशेखर लगायत वीपीका सुभेच्छुकहरु जेल पर्नुबाट भारतबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्ने आशा मरेपछि दक्षिण एसियामा बढ्दै गएको अशान्तिलाई नजिकबाट नियालेका वीपीले कुनै पनि समयमा नेपालको राष्ट्रियतामाथि प्रहार हुन सक्ने सम्भावना देखी राष्ट्र रहेमात्र हामी रहन्छौ भन्ने विचार लिएर नेपाल फर्कने निर्णय लिए ।
तत्कालीन समयमा नेपालमा राजकाज सम्बन्धि करिब ७/८ वटा मुद्दा अदालतमा विचाराधिन थिए जसमध्ये कुनै एकमा हारे फासीको सजाय समेत हुनसक्थ्यो । तर जीवन नै एक सुनिश्चित जोखिम हो । प्रवाशमा बसेर आयु बढाउनुभन्दा स्वदेशमा बसेर आयु घटाउनु बेस हुन्छ भन्ने वक्तव्य जारी गरि मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बिचमा रहनुपर्छ भन्ने सोचका साथ आफूमाथिको मृत्युदण्डको समेत बेवास्ता गरी स्वदेश फर्किएका थिए ।
वीपी भन्नुहुन्थ्यो- देश भन्नुहोस् या राष्ट्र, त्यो भुगोल होइन, त्यो यथार्थमा जनता हो । यो देश महलमा बसेर गाडी चढ्नेको मात्र होइन । गरिब र किसानको पनि हो । यो देश ठुलाठुला घरहरु चौडा बाटाहरु मात्र होइन, आङ फाटेको कमिज र घेरो मात्र बाँकि रहेको टोपी लगाउने मजदुर अनि हलो जोतिरहेको किसान पनि हो । देश भनेको केवल भुगोल मात्र होइन यहाँ बसोबास गर्ने सम्पुर्ण जनताहरु हुन्, अनि राष्ट्रियता भनेको माटो मात्र होइन यहाँका मानिसको भावना हो । जबसम्म समाजमा समानता स्थापित गर्न सकिँदैन तबसम्म प्रजातन्त्र स्थापित गर्न सकिँदैन । असमानता र आर्थिक शोषण विद्यमान रहेको प्रजातन्त्र प्राणविनाको शरिर मात्र हो । वीपीलाई कुनै एक समर्थकले एकदिन सोधेछन् सान्दाजु देशमा प्रजातन्त्र आएपछि के हुन्छ ? वीपीले मुस्कुराउँदै भनेछन् देशमा प्रजातन्त्र आएपछि फेरि एकपल्ट सुुकिलामुकिलाहरु हावी हुनेछन् अनि फेरि तिमीहरुजस्ता इमान्दार कार्यकर्ताहरुले संघर्ष गर्नुपर्छ । तर आज कांग्रेसका कार्यकर्ताहरु संघर्ष गर्नमा होइन अवसरको खोजीमा भड्किरहेका छन् । वीपीको त्याग समर्पण र संघर्षबाट स्थापित भएको कांग्रेसरुपी इमारत एकदिन गर्ल्यामगुर्लुम्म ढल्ने सम्भावना बढ्दै गएको छ ।
वीपीको विचार र सिद्धान्तको जगमा मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस आज दिशाविहिन भएको छ । वीपी कोइरालाको ११० औँ जन्मजयन्तिको अवसरमा यो आलेख तयार पार्दै गर्दा यतिबेला कांग्रेसमा स्पस्ट भिजनको आवश्यकता देखिएको छ । आज कांग्रेसले केवल वीपीका विचारलाई बेच्ने काम गरिरहेको छ । वीपीका विचारलाई केवल राजनीतिक आधार र सत्ता प्राप्तिका हतियार मात्र बनाएका छन् । वीपीका विचाहरु केवल कागजका पानामा सीमित भएका छन्।वीपीका विचारलाई जीवन्तता दिन र व्यवहारमा उतार्न सकिएको छैन।यस्ता गतिविधिले गर्दा वीपीका सच्चा अनुयायीहरुमाथि आघात पुगेको छ । अध्ययनशील तथा विदेशबाट पढेर आएका व्यक्तिहरु अनि युवा विद्यार्थीमा कांग्रेसप्रतिको आकर्षण घट्दो छ । बरु आकर्षक नारासहित उदाएका दलहरुप्रतिको आकर्षण बढ्दो छ । पार्टीको लोकप्रिय मत घट्दो छ । आज जनतामा पुराना दलहरुप्रति वितृष्णा बढ्दै गएको छ । कांग्रेसको युवाहरु पार्टीभित्र आफ्नो भविष्य असुरक्षित देखिरहेका छन् । चरम गुटबन्दी ,आर्थिक चलखेलजस्ता विषयले पार्टिभित्र गैरराजनीतिक मान्छे हाबी भएका छन् ।
भ्रष्टाचार नहोस् र सदाचारी, सभ्य र सुसस्कृत समाज निर्माण होस् भन्ने चाहना जनताको हुन्छ। त्यसैअनुुरुप कांग्रेसले सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्देश दिनु पर्ने हो । तर ठुला भ्रष्टाचार काण्डमा ठुला नेताहरुकै नाम जोडिएको छ । नक्कली भुटानी शरणार्थी तथा ललिता निवाश जग्गा प्रकरणमा कांग्रेसको नेताको नाम जोडिनुले आम जनमानसमा कांग्रेसको साख गिरेको छ । जनताको विश्वासमा तुषारापात हुनेगरी भएको यस्ता भ्रष्टाचारको घटनाहरुबाट जनता कांग्रेसप्रति क्रुद्ध हुँदै गएका छन् । आज बिस्तारै कांग्रेसको सिद्धान्त विस्मृत हुँदै गएको छ । सत्ताको लालसामा डुबेको कांग्रेस विचार र सिद्धान्तको राजनीति छोडी सत्ता प्राप्तिमा केन्द्रित भएको छ। वीपी भन्नहुन्थ्यो राजनीति गर्ने मान्छे सरल, सहज,योगी र साधुसन्त सरह हुनुपर्छ तर आज जोगी बन्न राजनीति गरेको होइन भन्ने भाष्य स्थापित भएको छ।राजनीतिलाई सुखसुविधा प्रयोग गर्ने थलोको रुपमा विकाश गरिएको छ।
प्रजातन्त्रको लागि दलहरु अपरिहार्य सस्था हो । दलहरु बलियो भए मात्र प्रजातन्त्र बलियो हुन्छ र प्रतिफल पनि दिन्छ । तर आज दलका उम्मेदवाहरुप्रति भन्दा पनि स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण बढ्दो छ । कांग्रेसजस्तो प्रजातन्त्रको लागि लडेको दल आज कमजोर हुँदै गएको छ । कांग्रेसले आफ्नो अभियान र आन्दोलनको मर्मअनुसार काम गर्न नसक्दा बिस्तारै कांग्रेसमा क्षेयीकरण बढ्दो छ ।कांग्रेसको विकल्पको खोजी भैरहेको छ । कांग्रेसले आफ्नो चरित्र र चेहेरा दुवै परिवर्तन गर्न जरुरी देखिएको छ । लामो राजनीतिक अनुभवले खारिएका नेता शेरबहादुर देउवाको नेतृत्व तथा लामो विद्यार्थी राजनीतिबाट खारिएर आएका दुई युवाहरु गगन थापा र विस्वप्रकाश शर्मा महामन्त्री तथा सिङ्गै कोइराला परिवारको विरासत बोकेका नेता शेखर कोइराला वरिष्ठ नेताको भूमिकामा रहेको बेलामा समेत कांग्रेसले अपेक्षाकृत उपलब्धि हाँसिल गर्न सकेको छैन । सुशासनको सन्देश दिनुपर्ने कांग्रेसमा टिकट वितरणको समयबाट नै कुुशासन र भ्रष्टाचारको प्रारम्भ हुने गरेको छ । टिकट वितरणको समयमा दले, गुण्डा,ठेकेदार, व्यापारीहरुलाई टिकट दिने र चुनाव जितेर उनीहरुले नै पार्टिका इमान्दार कार्यकर्तामाथि दमन गर्ने क्रम बढ्दो छ । टिकट पायर नेता भैटोपलेकाहरूले कार्यकर्ताहरुलाई दास सरह व्यवहार गरिरहेका छन् ।
वीपी भन्नुहुन्थ्यो- कम्युनिष्ट र हाम्रो कुनै पनि कुरा मेल खादैन त्यसैले हामीले आफ्नो सिद्धान्त त्यागेर कसैसँग पनि सम्झौता गर्न हुँदैन तर आज कांग्रेसले वीपीको महान विचारलाई रद्दीको टोकरीमा फ्यालेर पालैपालो विभिन्न कम्युनिस्ट घटकसँग गठबन्धन गरि निर्वाचनमा होमियो । हिजो जसले घरबार उजाड्यो आज उसैलाई मतदान गर्न बाध्य पारियो । गठबन्धनको मूल कारणनै शीर्ष नेताहरुको सत्तारोहण भन्दा बाहेक अरु केही थिएन ।यो अपवित्र गठबन्धनको आवश्यकता र औचित्य दुवै थिएन भन्ने कुरा बहुमत पुर्याउन आवश्यक मत १३८ मा गठबन्धनको तर्फबाट १३६ सिट मात्र जित्नुले प्रष्ट हुन्छ ।
स्वार्थ सिद्ध गर्न भएको गठबन्धन स्वार्थको निम्ति नै टुटेर नेपाली राजनीतिमा नयाँ समिकरण तयार भएपछि आफैले प्रतिगमनकारी करार गरेको केपी ओलीको सहयोगमा प्रधानमन्त्री बनेर आफूलाई धोका दिएका प्रचण्डलाई विश्वासको मत दिनुले कांग्रेस सत्ताको लागि जुनसुकै हत्कण्डा गर्न पनि तयार हुन्छ र कांग्रेसलाई सत्ताबाहेक केही चाहिन्न भन्ने छाप आमआम जनतामा परेको छ । अहिले देशमा भएका विभिन्न भ्रष्टाचारका काण्डहरुमा कांग्रेसले भण्डाफोर अभियान चलाउनु पर्ने हो । तर सत्ताको रसपानमा मन्त्रमुग्ध भएर बसेको छ।कांग्रेसले वीपीको विचारलाई अंगीकार गर्न नसक्दा पार्टिभित्र विकृति , विसङ्गति, बेथिति र दमन बढ्दै गएको छ । कांग्रेसमा वीपीविचार विस्मृत हुँदै गएको छ । यदि कांग्रेसले यसरी नै वीपीको विचारलाई बिर्सँदै जाने हो भने वीपीको विचारको जगमा अडिएको यो पार्टी कुनैदिन इतिहाँसको पानामा सीमित नहोला भन्न सकिँदैन ।
(लेखक नेपाली कांग्रेसका रौतहट जिल्ला कार्यसमितिका सदस्य हुन् ।)