
- सुनिता बिष्ट
मकवानपुर । आज भदौ २२ गते चेपाङ समुदायले न्वागी पर्व मनाउँदै छन् । हरेक वर्ष सामूहिक रुपमा न्वागी पर्व मनाउँदै आएका चेपाङ समुदायले आज धादिङ्गको गजुरी गाउँपालिका ५ च्याङलीमा सामूहिक रुपमा पर्व मनाउँदै छन् ।
नेपाल चेपाङ संघ केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागी हुने संघका अध्यक्ष गोबिन्दराम चेपाङले बताए । ‘हरेक बर्ष विभिन्न कार्यक्रम गरेर मनाइने गरेको न्वागी पर्व यो वर्ष धादिङको गजुरीमा मनाउन लागेका छौं,’ अध्यक्ष चेपाङले भने, ‘हाम्रो कार्यक्रममा आज मुख्यमन्त्री आउनु हुनेछ ।’
घरमा नयाँ अन्न भित्रिएको खुशीयालीमा मनाइने छोनाम (न्वागी) पर्व चेपाङ समुदायले मनाउने गर्छन् । चेपाङ पाण्डे (पुजारी) हरूले रातभर एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) प्रकृतिलाई पूजा गरेर छोनाम अर्थात न्वागी पर्व मनाउँछन्।
उनीहरुको हरेक वर्ष घिरौंला, निबुवा, घैया धान, पिँडालु, गाभा जस्ता नयाँ अन्नबाली, तरकारी खान पूजा गर्नुपर्ने नियम छ । नयाँ बाली खान यो पूजा गरेर पर्व मनाइन्छ। यो पूजा नगरेसम्म नयाँ बाली खान नपाइने र रोगव्याधी लाग्ने उनीहरुमा विश्वास छ ।
राति केरा, पिँडालु, घिरौला, निबुवा, घैया धान घरमा भित्र्याएर सबै राखेर पूजा गरेर ढ्यांग्रो बजाउँदै न्वागी फलाक्ने गरिन्छ भने बेलुकादेखि सुरु हुने पूजा रातभरि गरेर विहान सुझाइबुझाई गरेपछि खानेकुरा खाने गरिन्छ ।
पूजा मार्फत् नै घरमा भित्रिएका अन्न कुलदेवतालाई चढाउने गरिन्छ । चेपाङ जातिमा आफूले मान्ने देवीदेवता, पितृ सबैलाई चढाएपछि मात्र खाने परंपरा छ ।
चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्छन् । न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुशीयाली साटासाट गरिन्छ । न्वागी फलाक्ने काम ‘पाण्डे बा’ वा ‘पाण्डे आमा’ ले गर्छन् ।
परम्पराअनुसार देउताले रचेर बास दिएका व्यक्तिलाई मात्र पाण्डे बा, पाण्डे आमा भनिने चेपाङ समुदायको भनाइ छ । न्वागी पर्वमा सामूहिक भोज खाने, नाचगान गर्दै रमाइलो गर्ने गरिन्छ । न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् ।
बागमती प्रदेशको धादिङ, मकवानपुर र चितवनमा उल्लेख्य मात्रामा चेपाङ समुदायको बसोबास छ । यो समुदायको बसोबास रहेका तीन जिल्लामा यो पर्व मनाउन बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।