
काठमाडौं । प्रतिनिधि सभा बैठक निरन्तर चलिरहदा सांसदहरुले बजेटमा मात्रै नभई अन्य क्षेत्रमा समेत ध्यान केन्द्रित गरिरहेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरुले अत्याधिक गर्मीका कारण तराई क्षेत्रमा देखिएको ‘लू’ को जोखिममा ध्यान दिनुपर्नेदेखि किसानका समस्याहरुको उठान गरे ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरुले जनस्वास्थ्यदेखि किसानका समस्यासम्मका विषयमा सरकारलाई ध्यानाकर्षण गराए ।
यसक्रममा सांसद विमला सुवेदीले गाईवस्तुमा देखा परेको लम्पिस्किन रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरिन् ।
यस्तै उनले सरकारले बीमा कम्पनीलाई बुझाउनुपर्ने प्रिमियम नबुझाएका कारण किसानले पाउनुपर्ने बीमा रकम समेत नपाएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तै सांसद मनिष झाले तराईमा तातो हावाको कारण जनजिवन प्रभावित हुनेतर्फ सरकारलाई सजग गराउँदै स्वास्थ्य संस्थाहरुले आवश्यक तयारी गर्नुपर्ने माग गरे ।
सांसद महेश बर्तौलाले किसानले मौसम अनुरुपका विभिन्न समस्याहरु खेप्नुपरेको भन्दै उनीहरुलाई समस्या अनुरुपको राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।
यसैगरि, सांसद माधव सापकोटाले असार १ गतेदेखि गंगबुस्थित बसपार्कबाट मात्रै यात्रुबाहक बस छुट्ने व्यवस्थाको अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।
यता, सांसद रघुजी पन्तले भारतको प्रतिरोधस्वरुप नेपालले टिष्टा, काँगडासम्म भएको आफ्नो नक्शा संसद भवनमा राख्ने प्रश्ताव गरे भने, सांसद रामहरि खतिवडाले प्रतिनिधि सभा बैठकमा बोलिएका कुराहरु रेकर्डबाट हटाउने कुराको अन्त्य गर्न आग्रह गरे ।
सांसद लेखनाथ दाहालले विद्यालय कर्मचारी र बालविकास शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले संघीय शिक्षा ऐन संसदको यसै अधिवेशनमा ल्याउन पनि माग गरे ।
उनले संघीय निजामती सेवा ऐन पनि संसदको यसै सदनमा ल्याएर पारित गर्नुपर्नेमा समेत जोड दिए ।