२२ जेष्ठ २०८०, सोमबार

काठमाडाैँ । बृहस्पति विद्यासदनको उच्चमाध्यमिक तह (प्लस टू) को दीक्षान्त समारोह भव्य रूपले सम्पन्न भएको छ । नक्सालस्थित होटल मेरियटमा एक समारोहको आयोजना गरी बृहस्पति विद्यासदनले प्लस टू तहका १३० जना विद्यार्थीलाई दीक्षित गरेको हो । साथै विभिन्न विधामा सर्वोत्कृष्ट तथा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मानसमेत गरेको छ ।

नबिल बैँङ्कका सिइओ ज्ञानेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस समारोहमा विद्यालय सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तमराज जोशी तथा प्रिन्सिपल कुमार थापाले विद्यार्थीलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

विज्ञान समूहबाट सर्वोत्कृष्ट विद्यार्थीका रूपमा नयना शाक्य र व्यवस्थापन समूहबाट आयुष्मा सिंह भण्डारीलाई प्रमुख अतिथि ढुङ्गानाले प्रमाणपत्र प्रदान गरेका थिए । उनीहरूलाई विद्यालयले पठनपाठन लगायत समग्रताको अध्ययन गरेर सम्मानित गर्ने निर्णय गरिएको थियो ।

खेलकुद लगायतका अन्य विधामा पनि विभिन्न विद्यार्थीलाई उत्कृष्ट घोषणा गर्दै सम्मान प्रदान गरिएको थियो । त्यसमा दिचेन लामा आर्ट्स क्लव, अनमोल लामा स्पोर्टस क्लव, सृजन लामा सोसियल क्लव, नैना राई इभेन्ट म्यानेजमेन्ट क्लव, विनम्र श्रेष्ठ इभेन्ट क्लव, जोया यासीम वानी एलोक्वीन्स क्लव, तासी गुरुङ डान्स क्लव, शुभानरत्न श्रेष्ठ म्युजिक क्लव रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्र ढुङ्गानाले विद्यार्थीलाई अत्यन्तै जीवनोपयोगी सुझाव दिए । विद्यार्थीले वर्तमान विश्व परिवेशमा आफूलाई नयाँ नयाँ ज्ञान विज्ञानका विधामा अपडेट गर्दै लैजानु पर्ने विचार राखे । उनले भविष्यको पठनपाठनको लागि आफूलाई मन परेको विषय रोज्नुपर्ने र त्यसैमा दक्षता हासिल गर्नुपर्ने विचार व्यक्त गरे । आफूले पनि देश विदेशमा पढ्दाका र काम गर्दाका अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरे ।

विद्यालयका प्रिन्सिपल कुमार थापाले पनि बृहस्पतिका शैक्षिक मूल्यमान्यतामाथि प्रकाश पार्दै विद्यार्थीलाई उपयोगी सुझाव दिए । उनले पठनपाठनको क्रममा होस् या जीवनका अन्य सन्दर्भमा होस् हामीले विचारशीलता, प्रसन्नता, आफ्नो कार्य तथा एकअर्काप्रति सम्मानजनक भाव राख्न सक्यौँ भने हाम्रो पठनपाठन तथा जीवनको उद्देश्य सार्थक हुन्छ । उनले स्वयम् जिम्मेवारीबोध गरेर आफूलाई स्वसञ्चालन गर्न तथा जिम्मेवारी र स्वतन्त्रतालाई सन्तुलित किसिमले अगाडि बढाउन सक्नुपर्ने विचार राखे ।

विद्यार्थीका तर्फबाट विज्ञान समूहकी छात्रा अभिलाषा थापा र व्यवस्थापन समूहका छात्र विनम्र श्रेष्ठले आफ्नो मन्तव्य राखेका थिए । मन्तव्य राख्ने क्रममा थापाले आफूले बृहस्पतिमा अध्ययन गर्दा अत्यन्तै हार्दिक वातावरण प्राप्त गरेको र अध्ययनसँगै विभिन्न ज्ञान, अनुभव तथा अतिरिक्त सिकाइ गर्ने मौका पाएको बताइन् । त्यसै गरी विनम्र श्रेष्ठले पनि पठनपाठन तथा विभिन्न कार्यक्रम सम्पन्न गर्ने सन्दर्भका अनुभव र सिकाइ सुनाउँदै दुई वर्षको अवधि अत्यन्तै अविस्मरणीय रहेको बताए ।

समारोहका बीच अतिथि तथा अध्यापकहरूलाई कार्यक्रम निर्देशक मीलन विष्टद्वारा मायाको चिनो प्रदान गरिएको थियो । अङ्ग्रेजी विषयकी शिक्षिका दुर्गा धामीले सञ्चालन गरेको यस कार्यक्रमलाई प्लस टू इन्चार्ज सुरेश काफ्लेले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए ।

४० वर्षअघि स्थापना भएको यस विद्यालयले कक्षा १ देखि १२ सम्म पठनपाठन गराउँदै आएको छ । उच्चमाध्यमिक तहमा विज्ञान तथा व्यवस्थापन विषयको पढाइ सञ्चालन भइरहेको छ ।

 

LIVE TV