
काठमाडौं । नक्कली शरणार्थी प्रकरणको विषय यतिबेला निकै चर्चामा छ । भीआइपी नेताहरुसहित १७ जना अभियुक्त प्रहरी हिरासतमा छन् । ३० जनाविरुद्ध अदालतमा दायर मुद्दामा आरोपीविरुद्ध बयान शुरु भएको छ ।
यतिबीचमा पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नै नक्कली भएको आवाज सदनमा उठेपछि अर्को रडाको मच्चिएको छ ।
प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेपछि मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।
पशुपतिमा तामाको जलहरी हटाएर चाँदीको राखिएको थियो । तत्कालिन प्रधानमन्त्री ओलीको घोषणापछि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मुर्तिमा सुनको जलहरी राखिएको थियो ।
जलहरी लगाउँदा सुन हराएको भनी महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनमा नै उल्लेख गरेको छ ।
सोही प्रतिवेदनलाई आधार मानेर धर्मको नाममा समेत भ्रष्टाचार भएको भन्दै तत्कालिन ओली सरकारको आलोचना नै भएको थियो ।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणले गर्दा अन्य भ्रष्टाचारका मुद्दाहरु ओझेलमा छन् । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लागिरहेको गिरोहमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, तत्कालिन गृहसचिवदेखि सांसदहरुसमेत मुछिएका छन् ।
शरणार्थी प्रकरणको मुद्दासँगसँगै अन्य भ्रष्टाचारीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज चौतर्फी उठिरहेको छ । यहि सन्दर्भमा सदनमा एमाले नेतृत्वको सरकारको समयमा भएको भ्रष्टाचारको उठान भएपछि एमाले सबैभन्दा बढी आक्रामक बनेको छ ।
आफूमाथि लागेको आरोपको निश्पक्ष छानबिनको माग गर्नुको सट्टा एमाले अध्यक्ष केपी ओलीले सदनमा प्रश्न उठाउने सांसदलाई जड्याहाले पनि यस्तो नबोल्ने भन्दै तुच्छ शब्दको प्रयोग गर्दै आक्रोश पोखेका छन् ।
महालेखा परीक्षकको प्रतिवेदनमै हराएको सुनको प्रश्न उठाउँदा सिंगो एमाले पंक्ति नै आक्रोशित बनेको छ । पार्टी नेतृत्वमाथि प्रश्न उठाउन नपाउने किसिमको प्रहसन एमाले पंक्तिले गरेको छ ।
जलहरीमा हराएको सुनको आवाज उठाउने सांसदलाई ओलीले देशद्रोह भएको समेत आरोप लगाए । यसअघि भ्रष्टाचारविरुद्ध अभियान चलाएर राजनीतिमा प्रवेश गरेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीले यो विषयलाई धार्मिक क्षेत्रमाथि प्रहारको रुपमा ब्याख्या गर्छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यदेखि ओली नजिकका अन्य ब्यक्तिहरु पनि मुछिएका छन् ।
त्यसैले नक्कली शरणार्थी प्रकरणमा ओलीको समेत संलग्न भएको आशंका भइरहँदा ओलीले आफूलाई नमुछ्न चेतावनी नै दिएका थिए ।
त्यसैले एमाले अध्यक्ष ओलीले आफूलाई दोषारोपण नै गर्न नपाइने होइन, आफूमाथि लागेको आरोपमा छानबिन गरी निर्दोष सावित हुनु नै एमाले र ओली स्वयमका लागि पनि हितकर हुनेछ ।