
- ज्योतिकुमार पन्थी
बर्दिया । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । अर्थमन्त्रालय यतिबेला बजेट तयारीमा ब्यस्त छ । बजेटअघि सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि देशको आर्थिक अवस्था चिन्ताजनक नरहेको उल्लेख छ ।
सदनमा प्रधानमन्त्री प्रचण्डले भने देशको आर्थिक निराशाजनक नरहेको दाबी गरेका थिए । तर प्रधानमन्त्रीले आर्थिक अवस्था निराशाजनक नभएको दाबी गरे पनि कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् । जिल्लाहरुमा चालु आर्थिक वर्षको बजेट भुक्तानी हुन सकेको छैन ।
बजेट अभावका कारण बर्दियाका सरकारी कार्यालयले सम्पन्न भएका कामको भुक्तानीसमेत दिन सकेका छैनन् । बर्दियामा सञ्चालन भएका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाका निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन् ।
जिल्लाका बबई सिंचाई आयोजना, बबई भादा औराही नदी ब्यवस्थापन आयोजना र कर्णाली नदी ब्यवस्थापन आयोजना लगायतका ठुला आयोजनाहरुले समेत रकम अभावका कारण निर्माण ब्यवासायीलाई भुक्तानी दिन सकेका छैनन् ।विकास आयोजनाहरु रकम अभावले समस्यामा परेका छन् ।
बर्दियाका कुन कुन आयोजना समस्यामा छन् ?
बबई भादा औराही नदी ब्यवस्थापन आयोजना
माग गरिएको कुल वार्षिक बजेटः रु ४० करोड
प्राप्त बजेट : रु १६ करोड ९५ लाख
कार्यालयले भुक्तानी दिन बाँकी रकमः रु ८ करोड
कर्णाली नदी ब्यवस्थापन आयोजना राजापुर, बर्दिया
डीपिआर अनुसार कर्याालयको बर्षिक बजेटः रु. ८५ करोड
प्राप्त भएको बजेटः रु.२१ करोड
थप प्राप्त बजेटः रु.९ करोड ४५ लाख
भुक्तानी हुनु पर्ने बाँकी बजेटः रु. ३० करोड
बबई सिंचाई आयोजना बैदी बर्दिया
वार्षिक कार्यालयले पाउँनु पर्ने बजेटः रु २ अर्ब
निकाशा भएको बजेटः १ अर्ब ५० करोड
निकासा भएको बजेटबाट मन्त्रालयले फिर्ता लगेको रकमः रु १५ करोड
भुक्तानी हुन बाँकी रकमः रु ६० करोड
सदरमुकाम गुलरियासहित बारबर्दिया नगरपालिका बढैयाताल गाउँपालिकामा नदी ब्यवस्थापनमा लागेको ‘बबई भादा औराही नदी ब्यवस्थापन आयोजना’ रकम अभावका कारण समस्यामा छ ।
कार्यालयले गरेका ठेक्का ब्यवस्थापनको भुक्तानी दिन नसक्दा दिनहँुजसो निर्माण ब्यवसायीहरु कार्यालय धाउन बाध्य छन् ।
बबई भादा औराही नदी ब्यवस्थापन आयोजना मात्र होइन, जिल्लाको अन्य आयोजनाको पनि अवस्था उस्तै छ ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई कर्णाली नदीको कटान र डुवानबाट बचाउनका आर्थिक बर्ष २०७१\०७२ मा स्थापना गरिएको कर्णाली नदी ब्यवस्थापन आयोजनाले ठेक्काको रकम अहिलेसम्म भुक्तान हुन सकेको छैन ।
त्यसैगरी देशको गौरवको आयोजनाका रुपमा स्थापना भएको बबई सिंचाई आयोजनाका बजेट बिहीन अवस्थामा छ ।
आयोजनाले बार्षिक बजेट अनुसार काम लगाएको भए पनि पछि सरकारले बजेट तानिदिएपछि सिचाई आयोजना समस्यामा परेको छ ।
सरकारले सञ्चालन गरेका सवै कार्यालयको २० प्रतिशत रकम निकासा काटिएको छ जसले गर्दा अधिकांश कार्यालयहरुले वार्षिक लक्ष्य हासिल गर्न नसक्ने अवस्थामा छन् ।