१३ जेष्ठ २०८०, शनिबार

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरी डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।
रेशम संरक्षक रहेको दलले प्रदेश र प्रतिनिधिसभामा उल्लेख्य सहभागीता जनाएपछि उनी दल र नेताको नजरमा छन् ।

तर, सत्ता र दलले उनलाई आफू अनुकुल प्रयोग गर्न खोज्दा उनी भकुण्डो जस्तो मात्रै बनेका छैनन्, उन्मुक्तिका लागि भन्दै चलेको आन्दोलनमा हत्या जस्तो जघन्य अपराधमा सजाय भुक्तान गर्नुपर्ने बाध्यतामा परेका छन् ।

राणा, पञ्चायत र राजाको प्रत्यक्ष शासनले जनतालाई दमन गरेको भन्दै चलेका आन्दोलनमा अहिलेका शीर्ष नेताहरुले मुद्दा खेपेका छन् ।

एमाले अध्यक्ष केपी ओली हुन् वा प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ नै किन नहुन उनीहरुले यस्ता आरोप खेपेका छन् । अझ ओलीले त लामो समय कठोर सजाय भुक्तान नै गरेका छन् ।

देश र जनताको मुक्तिका लागि भन्दै उनीहरुले गरेका आन्दोलनका कारण गम्भीर आरोप खेपेपनि उनीहरु राजनीतिमा सक्रिय मात्रै छैनन, देशको नेतृत्व समेत गरिसकेका छन् ।

यसरी आन्दोलनमा सरिक भएको भन्दै उनीहरुलाई राज्यले राजनीतिक आन्दोलन भन्दै उन्मुक्ति र संरक्षण पाइराख्दा यस्तै प्रकृतिको आन्दोलनमा सरिक रेशमलाल चौधरी किन दोषी ? प्रश्न नउठेका होइनन् ।

प्रहरी अधिकारीसहित दुधे बालकको निर्ममतापूर्वक हत्या भएको टीकापुर घटना पीडादायी छ । पीडित परिवारको हालत अवस्था के होला ? बयान गरि साध्य छैन । तर, यस्तै प्रकृतिका आन्दोलनमा हजारौंले ज्यान गुमाएको तीतो यथार्थ हामीसामू फेहरिस्त नै छ ।

रेशमले जेलबाट होस् वा आरोपपछि फरार रहँदा नै, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त रेशम क्रान्तिकारी योद्धा भएको भन्दै प्रसंसा नै गरे ।

बाबुरामले अदालतले पुराना नजिर, बयान र अन्य आधारमा फैसला गर्ने भएपनि समाज रुपान्तरणका लागि रेशमको योगदान अपराधी नभएर योद्दाको रुपमा भएको उनको ठहर छ ।

यसरी नै प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ’प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष दलका नेताहरुले उनलाई दोषी भन्न सकेकै देखिन्न । तर, अदालतले उनलाई दोषी ठहर गरिसकेको छ । अदालतको निर्णय बाध्यकारी हुन्छ ।

लोकतन्त्रमा यो सर्वमान्य विषय पनि हो । यद्यपी जनताले रेशमलाई भने दोषी करार गर्न अस्वीकार गरेको तथ्य पनि जहजाहेर नै छ ।

रेशम आफैले जेलबाट अदालतको फैसलालाई सम्मान गर्ने मात्रै बताएका छैनन, उनले न्यायालयप्रति विश्वास कायमै रहेको समेत दाबी गरेका छन् ।

अदालतको निर्णय र सरकारले आम माफीको विषय जसरी बाहिर ल्याएको छ, त्यसमा राजनीतिक स्वार्थ भन्दा पनि यो विषयलाई कुन हिसाबले लिने भन्ने प्रमुख विषय हो ।

टीकापुर घटना आपराधिक वा राजनीतिक ? यसको छिनोफानो अब राज्य, सरकार र सबै दलहरुले गर्नुपर्नेछ ।

आममाफीभन्दा पहिले यो प्रकरणलाई आपराधिक मान्ने कि राजनीतिक भन्ने विषय निक्र्यौल नभई फगत आममाफीको विषयले रेशम र पीडित परिवारमाथि अर्को अन्याय हुनेमा सचेतता अपनाउनुको विकल्प छैन ।

LIVE TV