
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । कैदीबन्दीको उपचार गर्ने नेपालको एकमात्र अस्पताल हो, काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार अस्पताल ।
जहाँ दैनिक २ सय बढी कैदीबन्दीलाई स्वास्थ्य उपचारका लागि लैजाने गरिन्छ । उपचारका लागि आउने विरामीमा समान्य स्वास्थ्य समस्याका साथै दीर्घ रोगको समस्या पनि देखिने गरेको छ ।
स्वास्थ्य उपचार सेवा पाउनु हरेक नागरिकको अधिकार हो । सोहि अधिकारलाई मध्यनजर गदै कैदीबन्दीको स्वास्थ्य उपचारका लागि सुन्धारास्थित केन्द्रीय कारागार अस्पताल निर्माण गरिएको हो ।
१५ शैयाबाट सेवा सुरु गरेको यो अस्तालमा हाल २० शैया रहेको छ । कैदीबन्दीका लागि बनेको अस्पतालमा हरेक दिनजसो २०÷२२ जनालाई विभिन्न अस्पतालमा रेफर गर्ने गरिएको छ ।
अस्पतालमा दैनिक ओपीडी सेवा लिनेको संख्या २ सयको हाराहारीमा छ । अस्पताल पुग्ने अधिंकास कैदी बिरामीहरुमा मौसमी प्रकोपका साथै दीर्घरोगको समस्या देखिन्छ ।
केन्द्रीय कारागारमा हाल ३५ सयभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । जसका कारण कोरोना, डेंगु लगायत मौसमी प्रकोप र अरु संक्रामक रोगको संक्रमणको जोखिम बढि हुने गरेको छ ।
साथै कदैबन्दीको संख्या धेरै हँुदा तथा बढ्दो मंहगीका कारण बिरामी कैदीबन्दीलाई पौष्टिक आहारको कमी एक प्रमुख समस्याका रुपमा देखिएको अस्पतालको भनाइ छ ।
चिकित्सकसहित ६७ जनाको दरबन्दी रहेको केन्द्रीय कारागार अस्पतालमा हाल ७५ जना कर्मचारी कार्यरत छन् ।
अस्पतालमा दरबन्दीमा कम भएका कारण विरामीको सेवाका लागि विशिष्ठ चिकित्सकहरु विना दरबन्दी आएर सेवा प्रदान गरिरहेको अस्पतालको भनाई छ ।
अहिलेको भौतिक संरचना जनशक्ति तथा बजेट अभावका कारण कैदीबन्दी बिरामीको उपचार सेवा प्रभावकारी बनाउन नसकिएको अस्पताल प्रशासनको भनाई छ ।
साथै यो अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न तथा विशेषज्ञ स्वास्थ्य उपचारका लागि १८ वटा अस्पतालमा सम्झौतासमेत गरिएको छ ।