१३ जेष्ठ २०८०, शनिबार

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ ।

उक्त टोलीले शुक्रबार नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरेको हो । २०७६ कात्तिकमा शिलान्यास गरिएको सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ ।

जसमा नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको मुख्य टनेल ६ सय मिटर र रेस्क्यु टनेल २ सय मिटर खन्न बाँकी रहेको र आउँदो दशैँसम्म मुख्य टनेल र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ ।

आगामी डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले बताए ।

५० अर्बको योजनामात्र राष्ट्रिय गौरवमा

राष्ट्रिय योजना आयोगले मुलुकमा सञ्चालन हुने आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०७९ तयार पारी मन्त्रिरिषद्मा पठाएको छ ।

आयोगले तयार पारेको मापदण्डमा राष्ट्रिय गौरवको आयोजना हुन कम्तिमा पनि ५० अर्ब रुपैयाँ लगानी लाग्ने हुनुपर्ने व्यवस्था छ । भने, आयोजनाको मापदण्ड साना, मझौला र ठूला भनेर वर्गीकरण गरेको छ ।

जसमा, १० करोड रुपैयाँसम्म लागत भएका संघीय आयोजनालाई साना, १० करोडभन्दा बढी ५० करोडसम्मका संघीय आयोजनालाई मझौला र ५० करोडभन्दा बढीका संघीय आयोजनालाई ठूला आयोजना मानिने छ ।

त्यसैगरी, आयोगले राष्ट्रिय गौरवका आयोजना हुनका लागि सरकारको दीर्घकालीन सोच तथा लक्ष्य प्राप्तिमा प्रत्यक्ष योगदान पु्र्याउने, आयोजना सञ्चालनबाट राष्ट्रिय अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनको कम्तिमा वार्षिक औषत ०.५ प्रतिशत योगदान पुग्नै पर्ने लगायतका मापदण्ड तोकेको छ । राष्ट्रिय गौरवका आयोजना जम्मा २५ वटामात्र घोषणा गरिनेछ ।

बन्ला त हुम्ला कर्णाली जलविद्युत आयोजना ?

हुम्लामा हुम्ला कर्णाली जलविद्युत आयोजना बन्ने भएको छ । विद्युत विकास विभागले जिल्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ४ र ५ मा ६१.०२ मेगावाट क्षमताको आयोजना बनाउने भएको हो ।

विभागले वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिसकेको र उक्त प्रतिवेदनअनुसार स्वीकृति क्षेत्र निर्धारण तथा कार्यसूचीअनुसार आयोजनाको लागत १४ अर्ब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । तर, सम्भाव्यता अध्ययनअनुसार भने आयोजनाको लागत १३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ । जसमा प्रति किलोवाट उर्जा उत्पादन गर्न २ लाख २५ हजार ४ सय खर्च हुने उल्लेख गरेको छ ।

आयोजनाबाट स्वीकृत क्षेत्र निर्धारण तथा कार्यसूचीअनुसार सुख्खा याममा १५१.०६ गिगावाट, वर्षा याममा २९२.५५ गिगावाट र कुल वार्षिक ४४३.६१ गिगावाट उर्जा उत्पादन हुनेछ । उक्त ट्रान्समिसन लाइन ३१.६ किलोमिटर लम्बाइ हुनेछ ।

काठमाडौंमा भाडा घट्यो : कहाँको कति ?

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा चल्ने छोटो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।

नेपाल आयल निगमले डिजलको मूल्य लिटरमा १० रुपैयाँले घटाएपछि सरकारले काठमाडौं उपत्यकामा चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा १९ रुपैयाँ तोकेको छ ।

यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीको यातायातको न्यूनतम भाडा २० रुपैयाँ थियो । त्यही २० रुपैयाँलाई आधार बनाएर प्रदेश सरकारले उपत्यकामा संचालन हुने छोटो दुरीका सार्वजनिक गाडीको भाडा १९ रुपैयाँ तोकेको हो ।

यो सँगै अब काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ, १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ, १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ रुपैयाँ तोकिएको छ ।

मन्त्रालयले घटाएको भाडादर बिहीबार नै राजपत्रमा प्रकाशित भइसकेकाले नयाँ भाडादर तत्काललै लागु हुने मन्त्रालयले जनाएको छ ।

आन्तरिक ऋण उठाउदै राष्ट्र« बैंक

सरकारले चार अर्ब रुपैयाँ नयाँसहित २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसमध्ये २५ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले सरकारका लागि आइतबार ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउँदैछ ।

एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र नै ट्रेजरी बिल हो । राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिलमार्फत ४ अर्ब नयाँ आन्तरिक ऋण उठाइ दिन लागेको छ ।

यसबाहेक २८ दिने चार अर्ब, ९१ दिने ३ अर्ब १३ करोड, १८२ दिने ६ अर्ब र १२ अर्बको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

अघिल्लो पटक २८ दिनेको ७.९१ प्रतिशत, ९१ दिनेको ९.३२ प्रतिशत, १८२ दिनेको ९.३५ प्रतिशत र ३६४ दिनेको ८.८ प्रतिशत ब्याजदर कायम भएको थियो ।

काठमाडौंमा रोजगार मेला

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्ने भएको छ । कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको हो ।

रोजगार मेलामा एक सयभन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दी बढी यूवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरु समेत आयोजना हुनेछन् ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको रोजगार मेला यही जेठ १६ र १७ गते महासंघको सचिवालय टेकूमा आयोजना हुदैछ ।

LIVE TV